पोखरा स्पोर्टस अवार्डलाई सहारा युकेको ५० हजार सहयोग

पोखरा स्पोर्टस । सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेले पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने भएको छ ।

७ औं पोखरा स्पोर्ट्स अवार्डलाई सहारा युकेले नगद ५० हजार सहयोग गर्ने भएको हो । सहारा युकेका अध्यक्ष ले.रि.कुशाङ गुरुङले सहारा युकेले संस्थागत रुपमा सहयोग गर्ने भएको पोखरा स्पोर्टस अवार्ड अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक केशव पाठकलाई बताएका छन् ।

“पोखरा स्पोर्ट्स अवार्ड आफैमा गौरव गर्ने कार्यक्रम हो” अध्यक्ष गुरुङले भने–“विगत तिन वर्ष देखि हामीले निरन्तर सहयोग गर्दै आएका छौं । यो पटक समेत सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।”

यसै गरी स्पोर्ट्स अवार्डलाई विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । सहारा क्लव पोखराका मानार्थ सदस्य तथा सहारा युकेका संस्थापक सल्लाहकार द्वय महेश गुरुङ र लोक बहादुर गुरुङ जनही नगद १०–१० हजार पोखरा स्पोर्ट्स अवार्डका लागि सहयोग गर्ने भएका छन् ।

त्यसै गरी पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङले नगद १० हजार, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, रामबजार निवासी तथा समाजसेवी चिनकाजी गुरुङ तथा पोखरेली मञ्च युकेका सल्लाहकार पोखरा ९ निवासी नरजङ्ग गुरुङले जनही नगद ५–५ हजार सहयोग गर्ने भएका छन् ।

पोखरा स्पोर्ट्स अवार्ड अन्तर्राष्ट्रिय समन्वय समितिका सह–संयोजक सुदर्शन रञ्जितका अनुसार अवार्डका लागि भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङले समेत सहयोग गर्ने भएकी छन् ।

यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने मञ्चका महासचिव राजाराम पौडेलले जनाए । 

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल रहेका छन् ।

नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, लगायतले समेत सघाउने तय भैसकेको छ ।

यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव पौडेलले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close