
पोखरा,
मित्रराष्ट्र भारतिय कुश्ती संघका अध्यक्ष ब्रिज भुषण शरन सिंहले नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को राम्रो तयारी गरिरहेको बताएका छन ।
नेपालमा आयोजना हुने १३ औं साग अन्तरगत कुश्ती खेलको निरिक्षणका लागि नेपालका आएका दक्षिण एसियाली तथा एसियाली कुश्ती महासंघका समेत अध्यक्ष रहेका सिंहले नेपालमा साग नहुने हो की भन्ने बारे कुनै द्विविधा समेत नरहेको बताए ।

पोखरा आएका अध्यक्ष सिंहले आजै पोखरा रंगशालाको निरिक्षण भ्रमण समेत गर्दै भने–‘नेपालले साग आयोजनाको जुन तयारी गरिरहेको छ, त्यसमा हामी विश्वस्त छौं र सबै दक्षिण एसियाली राष्ट्रका खेलाडी सागका लागि नेपालमा आउनेछन ।’
नेपालको साग तयारी हेर्नका लागिनै नेपाल आएको जानकारी दिंदै अध्यक्ष सिंहले खेल भएमा मात्रै सबै खेलाडीको क्षमतामा समेत अभिवृद्धी समेत हुने बताए । कतै पाकिस्तान र भारतका खेलाडी संगै नखेल्ने हुन की भन्ने प्रश्नमा अध्यक्ष सिंहले पहिले जस्तै सबै खेलाडीहरु खेल भावना र नियम अनुसारनै खेल्ने बताए ।
नेपालमा यहि मंसिर १५ बाट हुने १३ औं साग पूर्व कुश्तीको प्रि म्याच समेत आयोजना हुने अध्यक्ष सिंहले जानकारी दिए ।
यता नेपाल कुश्ती संघका अध्यक्ष राज मोहमद अन्सारीले सागमा सात वटा इभेन्टमा प्रतियोगिता हुने बताए । उनले नेपालले स्वर्ण पदक हासिल गर्ने गरि तयारी भइरहेको बताउँदै अध्यक्ष अन्सारीले अव सहभागिता मात्रै नभई महिला तथा पुरुष खेलाडीले स्वर्ण पदक जित्न खेलाडीलाई प्रशिक्षणका लागि इरान पठाइने बताए ।
दक्षिण एसियाली सबै देशका खेलाडीले साग खेलाडीहरु नेपाल आउने जानकारी सबै देशहरुले पठाइसकेको हुनाले साग अन्तरगत सबै देशका खेलाडी नेपाल आउनेमा आफू विश्वस्त रहेको अध्यक्ष अन्सारीले बताए ।
भारितिय कुश्ती संघको टोलीले आजै गण्डकी प्रदेश मुख्य मन्त्रि पृथ्वी शुब्बा गुरुङ संग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
पोखरा आएका मित्रराष्ट्र भारतिय कुश्ती महासंघका अध्यक्ष सिंह लगाएतलाई राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी लगाएतले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।
पोखरा रंगशाला निरिक्षणका लागि पुगेका भारतिय कुश्ती महासंघका अध्यक्ष सिंहले बन्द प्रशिक्षणमा रहेको नेपाल ह्याण्डबल संघका महिला ह्याण्डबल खेलाडी तथा प्रशिक्षकहरुलाई भेटेर शुभकामना दिएका थिए । उनले भारतमा ह्याण्डबलको कुनै पनि प्रशिक्षण आवश्यक परेमा आफूले सहयोग गर्ने बताए ।
