
पोखरा स्पोर्टस । लन्डन म्याराथनमा सहभागी हुन ३ पुरुष भेट्रान खेलाडीसहित ४ सदस्यीय नेपाली भेट्रान टोली बुधबार लन्डन प्रस्थान गर्दै छन् ।
रामकृष्ण महर्जनले ६५–७० वर्ष, शम्भुप्रसाद दाहालले ६१–६५ वर्ष र सन्जिव अर्यालले ४०–४५ वर्ष उमेरसमूहमा दौड्ने भएका हुन् । सबैले फुल म्याराथन (४२.१९५ किमि)मा भाग लिने छन् । अफिसियलमा राधा महर्जन छिन् ।

सहभागि सबैसंग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । सहभागि मध्ये सबैभन्दा बढी अनुभवी रामकृष्ण हुन् । उनले लन्डन म्याराथनअघि विभिन्न २१ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
सहभागिता जनाएको प्रतियोगितामा हालसम्म रामकृष्णले विभिन्न स्पर्धामा ३ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जितेका छन् । रामकृष्णले सहभागिता जनाएको प्रतिष्ठित म्याराथनमा बोस्टन, बर्लिन, टोकियो, सिकागो र न्युयोर्क सिटी म्याराथन हुन् ।
टोलीलाई खेलकुद नेपालका अध्यक्ष तथा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, एथलेटिक्सकर्मीलगायतले सोमबार बिदाइ गरे ।
