
पोखरा स्पोर्टस । अन्ततः नेपाली खेलाडीहरुको बहुप्रतिक्षित १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को शुक्रबार काठमाण्डौमा सम्पन्न ११८ औं बोर्ड बैठकले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ यहि वर्षको चैत २३ गते देखि ३० गते सम्म गर्ने निर्णय गरेको हो । मंसिरको पहिलो साता हुने भनिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुँदा खेल क्षेत्रमा अन्यौलता संगै खेलाडीहरुमा निराशा छाएको थियो भने खेल क्षेत्र ठप्प जस्तै बनेको थियो ।

यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णाय गरेको थियो । गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको ११५ औं बोर्ड बैठकले उक्त मितिमा दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
यूवा तथा खेलकुद मन्त्री एवं परिषदका अध्यक्ष तेजुलाल चौधरीको अध्यक्षतामा मन्त्रालयमा १ बजे सुरू भएको बैठक झण्डै ५ घन्टा चलेको थियो । बैठकले १० औं राष्ट्रिय खेलकुदको प्रतियोगिताको मिति संगै प्रतियोगिताको निर्देशिका संसोधनसहित अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको बैठकमा सहभागि प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
यस्तै ११८ औं बोर्ड बैठक मंसिर १४ गते बसे पनि बैठकमा सदस्यहरुको गणपुरक संख्या (कोरम) नपुग्दा आजलाई बोलाइएको थियो । सोही दिन भएको विशेष छलफलमा फागुन १४ गते सुरू हुने गरी आन्तरिक छलफल समेत गरिए पनि आजको बैठकले चैत २३ गते देखि सुरु हुने गरी १० औं राष्ट्रिय गर्ने निधो गरेको छ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल ३५ खेल समावेश गरिने संगै कर्णाली प्रदेशको सुर्खेतमा आयोजना सम्भव नभएका खेलहरु भने अन्य प्रदेशहरुमा हुने गरी बैठकमा निर्णय गरिएको छ ।
केही दिन अघि पोखरा आएका यूवा तथा खेलकुद मन्त्री चौधरीले पोखरा रंगशालामा आयोजित एक अन्तक्रिया कार्यक्रममा १० औं राष्ट्रिय खेलकुदको प्रतियोगिता अब फागुन महिना नकट्ने प्रतिवद्धता जनाएका थिए ।
सम्पन्न बैठकले राष्ट्रपति रनिङ शिल्ड सञ्चालनका लागि आवश्यक बजेट अर्थ मन्त्रालयमा माग गर्ने निर्णय गरेको छ । संघिय सरकारले राष्ट्रपति कप सञ्चालनका लागि वार्षिक वजेट दिंदै आएको भए पनि यस वर्षबाट सो बजेट रोकिएको थियो ।
त्यसै गरी पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई समेत वार्षिक दुर्घटना विमा लगायतका सुविधा दिने गरी सम्वोधन गर्ने जनाइएको छ । स्मरणिय के छ भने प्रदेश खेलकुद परिषद गण्डकीले गत आर्थिक वर्षबाट नै सबै खेलका रेफ्रि, प्रशिक्षक एवं पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित समावेश गरी वार्षिक दुर्घटना विमा कार्यक्रम सुरु गरिसकेको छ ।
राखेपमा केही महिना यता उपाध्यक्षसहित बोर्ड सदस्यहरुको मनोनयन हुन सकेको छैन । बिहिबारको बैठक राखेपमा हाल उपलब्ध रहेका सदस्यहरु मध्ये ३३ प्रतिशतको गणपुरक संख्या पुर्याएर बैठक सम्पन्न गरिएको हो ।
