
पोखरा स्पोर्टस । पोखरामा नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ । दक्षिण एसियामा नै पहिलो पटक आयोजना हुन लागेको सो बोट रेसका लागि नेपाल पर्यटन बोर्ड र जनवादी गणतन्त्र चीनको राजदूतावासबीच सम्झौता भएको हो ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित जनवादी गणतन्त्र चीनको राजदूतावास र पोखरा महानगरपालिकाले संयुक्त रुपमा पोखरामा यही जुन २३ देखि २४ गतेसम्म हुने भएको छ । नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारीबीच दुई देशबीचको संस्कृति, जनस्तरको सम्बन्ध अभिवृद्धि र नेपालमा चिनियाँ पर्यटकको आगमनमा बृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमका सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कार्यकारी सदस्य मदन आचार्यको उपस्थितिमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी र चिनियाँ दूतावासबाट नियोगका उपप्रमुख वाङ जिनले हस्ताक्षर गरेका छन्।
दक्षिण एसियामा आयोजना हुन लागेको यो पहिलो ड्रागन बोट रेस फेस्टिभल हो जसमा चीनबाट ८ वटा डुङ्गा ल्याइनेछ । प्रतियोगितामा चीन र नेपालका सबै प्रान्तबाट सहभागी हुने र दौड अघि आवश्यक तालिम लिनेछन् ।
सम्झौता कार्यक्रममा बोल्दै पोखराका मेयर धनराज आचार्यले यस्ता कार्यक्रमले नेपालको समग्र पर्यटनमा नयाँ आयाम थप्ने र पोखराको पर्यटनमा नयाँ उत्पादन थप्ने बताउँदै हरेक वर्ष यो आयोजना गरिने बताए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले डुङ्गा दौड महोत्सवले पोखराको पर्यटनलाई थप दिगो बनाउन सहयोग पुग्ने बताए । उनले त्रिपक्षीय सहयोगका साथै अन्य पर्यटन सरोकारवालाको सहयोगले पोखरामा पर्यटक भित्र्याउन मद्दत पुग्ने उनको भनाई थियो ।
चिनियाँ दूतावासका डीसीएम वाङ जिनले पोखरा चिनियाँ पर्यटकका लागि लोकप्रिय गन्तव्य भएको र यस कार्यक्रमबाट दुई देशबीचको सांस्कृतिक र जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताए । उनले दक्षिण एसियामा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा फुड फेस्टिभल पनि आयोजना गरिने छ ।
स्रोत तथा फोटो : एनटिवी
