पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय भलिबल सुरु

पोखरा स्पोर्टस । काठमाण्डौमा मंगलबार बाट पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय भलिबल सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपाल पुलिसले २५–२१, २५–२२, २६–२४ ले एपिएफलाई पराजित गरेको छ ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार अब आउने नीति तथा कार्यक्रम र बजेटमा भलिबलका लागि सम्बोधन गर्ने बताए ।

स्वर्गीय नेता पोस्टबहादुर बोगटीको स्मृतिमा आयोजना भएको प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण पनि गरे । तेस्रो कार्यकालमा भलिबललाई अगाडि बढाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आगामी एसियाली खेलकुदमा महिला भलिबल टोलीको सहभागिता निश्चित भएको र पुरुष भलिबल टोलीको पनि सहभागिता आवश्यक रहेकोमा बताए । सदस्य–सचिव घिसिङले वर्तमान प्रधानमन्त्रीको दोश्रो कार्यकालमा भलिबल राष्ट्रिय घोषणा भएको स्मरण गर्दै सोको लागि आभार व्यक्त गर्दै राष्ट्रिय खेल भलिबलको विकास र विस्तारका लागि प्रधानमन्त्रीज्यूबाट विशेष सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताए ।

लिगकम नकआउटको आधारमा सञ्चालन हुन प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख रुपैयाँ र सन्त्वना पुरस्कार ५० हजार रुपियाँ पाउनेछ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पोष्टबहादुर बोगटीको सम्झनामा आयोजित भलिबल प्रतियोगितामा तीन विभागीय, गण्डकी र सुदूरपश्चिम प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close