चितवनमा पहिलो पटक नेपाल अटो जिमखाना च्याम्पियनसिप हुने

पोखरा स्पोर्टस । चितवनमा नेपाल अटो जिमखाना च्याम्पियनसिप आयोजना हुने भएको छ ।

नेपाल अटोमोवाइल्स एसोसिएसन नासा नेपाल वाग्मती प्रदेश संघको आयोजनामा नेपाल र विश्वकै सन्दर्भमा अन्तन्तै सहासिक र पृथक पहिचान बोकेको मोटर स्पोर्ट्सको नयाँ इभेन्ट अटो जिमखाना पहिलो पटक हुने भएको हो ।

भरतपुरमा रहेको महालक्ष्मी ट्रायल सेन्टर प्रा.लिको १ किमि ट्रयाकमा प्रतियोगिताको तयारी भएको र इभेन्टमा १६ देखि २५ जना ड्राइभर सहित मार्शल तथा प्राविधिक गरी १ सय भन्दा बढिको सहभागीता गराउने योजना रहेको नासा नेपाल वाग्मतीका अध्यक्ष राजन पियाले जानकारी दिएका छन् । प्रतियोगितामा मार्शल र अन्य प्राविधिक गरि ८० जनाको सहभागीता रहनेछ ।

आगामी २०८० साल वैशाख ३० गते हुने उक्त प्रतियोगिताका प्रथम, दोश्रो र तेश्रो हुने विजेताले क्रमश नगद २७ हजार, ९ हजार र ३ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सवै किसिमका १२०० देखि २००० सीसी सम्मका मोटरहरुले भाग लिन पाउनेछन् भने ५ जना सम्म महिला सहभागी भएमा छुटै क्याटोगोरी बनाइने आयोजकले जनाएको छ ।

१४ लाख ३० हजार कुल लागत अनुमान गरिएको प्रतियोगिताका लागि भरतपुर महानगरपालिका, वाग्मती खेलकुद विकास परिषद, उद्यमी ब्यबसायी तथा दर्ता शुल्क मार्फत बजेट ब्यबस्थापन गरिने भएको छ भने प्रतियोगिता सम्पन्न गर्नका लागि अध्यक्ष पियाको संयोजकत्वमा व्यवस्थापन टिम र गोपाल भट्टराईको संयोजकत्वमा आर्थिक टिम वनाइएको छ ।

उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण टेलिभिजनबाट गरिने प्रतियोगिताको प्राविधिक संयोजन नासा नेपालका अन्तर्राष्ट्रिय तालिम प्राप्त मार्शल तथा फोर ह्विलर टिमका संयोजक अनिल वरालले गर्नेछन् ।

एक दशक देखि नेपालमा र चितवनमा समेत सुरुवात भएको मोटर स्पोर्ट्सको दर्जनौ इभेन्टहरु हाल नेपालमा भइरहेका छन् । मोटर रेसिंगको सर्ट सर्किट विद्या अटो जिमखाना छोटो र साँघुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसावले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close