
पोखरा स्पोर्टस् । नेपाल मुआथाई गण्डकी प्रदेशले विद्यार्थीहरु लक्षित स्प्रिङ क्याम्पको आयोजना गर्ने भएको छ ।
संघ गठन भएको एक साता समेत नवित्दै उक्त कार्यक्रमको घोषणा गरेको हो । सो बारे जानकारी दिंदै संघका अध्यक्ष दीपक गोदारले ४५ दिने क्याम्पका लागि आगामी बैशाख ३ गतेबाट १५ गते सम्म दर्ताका लागि तोकिएको बताए । मुआथाई खेलको ग्रासरुट बाटै विकास गर्ने उद्धेश्य संगै हालै परिक्षा दिएर घरमा बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै यो कार्यक्रम तय गरिएको उनले बताए ।
“अहिले परिक्षा दिए संगै विद्यार्थीहरु के गर्ने भन्ने बारे अन्यौल छन् । उनीहरुलाई मार्शल आर्ट खेलको एक महत्वपूर्ण खेलको रुपमा नेपालमा विकास भइरहेको मुआथाई खेलको प्रशिक्षण गराउन चाहन्छौं” महासचिव खगेन्द्र क्षेत्रीले भने–“यो कार्यक्रमले विद्यार्थीहरुलाई शारिरिक र मानसिकरुपमा समेत अघि बढ्न तथा अभिभावकहरुलाई समेत केही राहत हुनेछ ।”
कक्षा ६ देखि एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी यो क्याम्प राखिएको जानकारी दिंदै निशुल्क रुपमा प्रशिक्षणको व्यवस्था समेत गरिएको महासचिव क्षेत्रीले जनाए । यो पहिलो चरणको कार्यक्रम रहेकोले पनि उनले सबै अभिभावकहरुलाई पोखरा रंगशालामा ल्याउन र खेलकुदमा आफ्ना बालबालिकालाई अघि बढाउन आग्रह गरे ।
नेपालकै पहिलो परियोजनाका रुपमा अघि सारिएको यो क्याम्पलाई प्रदेश खेलकुद परिषद गण्डकी र खेल्छ गण्डकीले सहयोग गर्ने भएको महासचिव क्षेत्रीले जनाए ।
