एनएनआइपिए अवार्डः एन्जिला र प्रिन्स सर्वोत्कृष्ट खेलाडी

रानाभाट गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित

पोखरा स्पोर्टस । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७८ मा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् । एन्जिला र प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान एक–एक लाख नगद प्राप्त गरे ।

यस्तै करातेकी चन्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिए । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गरे ।

सर्वोत्कृष्ट पारा एथलेट अवार्ड सुभेक्षा खतिवडा, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र एनएनआईपीए खेलकुद पत्रकार पुरस्कार कान्तिपुर दैनिक ध्रुव तुलाधरले प्राप्त गरे ।

पारा अवार्ड विजेताले १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेताले २५ हजार नगद प्राप्त गरे ।

काठमाण्डौमा आयोजित अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान समेत गरिएको थियो ।

उत्कृष्ट खेलाडीको अवार्ड पाउनेमा आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ, साइक्लिङकी निष्मा श्रेष्ठ र फेन्सिङका ओमकार सिंहले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।

त्यस्तै फुटबलकी एन्जिला तुम्बापो सुब्बा, गल्फका सद्भाव आचार्य, जिम्न्यास्टिकका नारायण मानन्धर, ह्याण्डबलका विशाल नेपाली, हक्कीकी कमला चन्द, जुडोका संजित डंगोल, कबड्डीका घनश्याम रोका मगर, करातेकी चन्चला दनुवार, र्‍याफ्टिङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङकी सुष्मिता नेपाल, स्कीकी संगिता लामा, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ, टेनिसका रितिक राना, ट्रायथलनका श्रेबी महर्जन, भलिबलकी सलिना श्रेष्ठ, भारोत्तोलनका विशालसिंह विष्ट, कुस्तीकी सुशिला चन्द र उसुकी सुष्मिता तामाङले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close