सहारा एकेडेमीले चौथो व्याचका फुटबल खेलाडी भर्ना गर्ने

पोखरा स्पोर्टस । सहारा क्लब पोखराले २०५८ सालदेखि कठिन परिस्थितीका बालकहरुको लागि संञ्चालन गर्दै आइरहेको सूर्यबहादुर केसी मेमोरियल सहारा फुटबल एकेडेमीमा आगामी २०८० साल बैशाखदेखि चौंथो ब्याचको प्रशिक्षार्थी बालकहरु भर्ना गर्ने भएको छ ।

मोफसलकै चर्चित क्लव मध्येको सहारा क्लब द्वारा सञ्चालित एकेडेमीले चौंथो ब्याचको प्रशिक्षार्थीहरु भर्ना गर्न लागिएको जनाएको हो । यस अघि क्लबले २०५८, २०६० र २०७० सालमा गरी तिन–तिन पटक नयाँ प्रशिक्षार्थीहरु भर्ना गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । क्लबले नयाँ भर्ना गर्ने प्रशिक्षार्थीका लागि विभिन्न मपदण्ड तय गरेको छ । जसमध्ये कम्तिमा कक्षा ५ उर्तिण गरेको छात्रहरु हुनुपर्ने जनाएको छ भने बुवा वा आमा गुमाएको वा अपांगता भएको संगै १० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

आगामी नयाँ वर्ष २०८० बाट ३० जना नयाँ प्रशिक्षार्थी बालकहरु भर्ना गरे सूचना प्रकाशित गरिएको जनाउँदै क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले गत २०७० सालमा भर्ना भएका २८ जना मध्ये हाल १३ जनाले १२ कक्षाको अन्तिम परिक्षाको तयारी गरिरहेको समेत जानकारी दिए । नयाँ प्रशिक्षार्थी बालकहरु भर्नाका लागि क्लबले वरिष्ठ उपाध्यक्ष केशवराज बरालको संयोजकत्वमा ५ सदस्यिय छनौट समिति गठन गरेको छ ।  जसको सदस्यमा चित्र बहादुर पुन, सुनिल राना, ज्योती केसी र रोजिना गुरुङ रहेका छन् ।

वार्षिक कुल ३० लाखको करिव खर्च हुने उक्त एकेडेमीलाई सूर्यबहादुर केसीको परिवारजनले १५ लाख बर्सेनि सहयोग गरेको छ भने क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्ड कप, देउसी भैलो कार्यक्रम, विभिन्न शुभेच्छुक शुभचिन्तकदाता र विशेषतः सहारा युके, सहारा हङकङ र सहारा अष्टे«लिया समेतको विशेष सहयोग तथा अक्षयकोषमा संकलित रकमबाट सञ्चालन भइरहेको क्लबले जनाएको छ ।

मोफसलको चर्चित क्लबल सहारा एकेडेमीबाट प्रशिक्षार्थीहरुमा चर्चित पूर्व राष्ट्रिय फुटबल कप्तान अनिल गुरुङ हुन् । उनी पहिलो व्याचका प्रशिक्षार्थी थिए । नेपालको फुटबल इतिहासमा स्थापित अनिल संगै नेपाल पुलिस क्लबका अजीत भण्डारी, नेपाली सेनाका नवीन श्रेष्ठ,नेपालको ए डिभिजन सातदोबाटो क्लब अनुबन्धित सुशील लामा, मनाङ मर्स्याङ्दी क्लबका अनिल पोमु लिम्बु रहेका छन् भने पूर्व राष्ट्रिय फुटबल यू–१९ का खेलाडी लक्ष्मण जिसी पनि एकेडेमीका उत्पादन हुन् ।

सहारा एकेडेमीमा पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी स्व.डम्बरसिंह गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी स्व.बिल तामाङ, पूर्व राष्ट्रिय फुटबल प्रशिक्षक किरण श्रेष्ठ एकेडेमीमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । प्रशिक्षक गुरुङको हालै निधन भएको हो भने प्रशिक्षक तामाङको दुई वर्ष अघि कोभिडका कारण निधन भएको हो । हाल एकेडेमीमा प्रशिक्षक प्रल्हाद हिराचन र हालका उदियमान प्रशिक्षक विष्णु गुरुङले प्रशिक्षण दिइरहेको क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close