पोखरामा एसिया कप ट्राइयाथलनको तयारी सुरु, नेपाली खेलाडी बन्द प्रशिक्षणमा

पोखरा स्पोर्टस । पोखरामा तेश्रो सस्करणको एसिया कप तथा दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिपको तयारी सुरु भएको छ ।

यहि अप्रिल १ र २ तारिख अर्थात चैत्र १८ र १९ गत पोखरामा प्रतियोगिता हुने भएको हो । एसिया कप तयारीका लागि नेपाली टिमको आइतबारबाट बन्द प्रशिक्षण सुरु गरेको छ । उक्त बन्द प्रशिक्षणका लागि २ महिलासहित १८ खेलाडीलाई नेपाल ट्राइयाथलन संघले जनाएको छ । सो बारे जानकारी दिंदैं टिम म्यानेजर सन्दिप अर्यालले नेपाली टिमले एक साता पोखरामा बन्द प्रशिक्षण गर्ने बताए ।

पौडी, साइक्लिङ र दौडको समिश्रण रहेको ट्राइयाथलन पछिल्लो समय पोखराको हव समेत बन्दै गएको छ । पोखराको फेवा ताल केन्द्रित हुने प्रतियोगिताका लागि १६ भन्दा वढि देशका खेलाडीहरु पोखरा आउने तयारी गरेको संघका केन्द्रिय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले भने–“अहिले हामी जोड–तोडका साथ तयारीमा छौं । नेपाली खेलाडीको समेत बन्द प्रशिक्षण सुरु भएको छ । प्रतियोगिता सफल बनाउन म सबैलाई आग्रह गर्छु ।”

एसिया कप तथा दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिप संगै राष्ट्रियस्तरको च्याम्पियनसिपको तयारी समेत गरेको अध्यक्ष श्रेष्ठले बताएका छन् । “यो एक सुनौलो अवसर समेत हो । हामी नेपाली खेलाडीहरुको क्षमतालाई उठाउन र उनीहरुलाई हौसला दिन राष्ट्रिय प्रतियोगितालाई समेत समावेश गर्दैछौं,” उनले भने । उक्त प्रतियोगिता अन्तर्गत पहिलो दिन ट्राइयाथलन हुनेछ भने दोश्रो दिन दुआथलनको प्रतियोगितालाई समावेश गरिएको छ ।

प्रतियोगितामा आयोजक नेपाल सहित भारत, वंगालादेश, पाकिस्तान, जापान, स्लोभाकिया, अस्ट्रेलिया, युएई, न्यूजिल्याण्ढ, उरुग्वे, काजाकास्तान, लक्जमवर्ग, उज्वेकिस्तान, मरिसस, अल्जेरिया, मोरोक्को, अस्ट्रीयालगायतका मुलुकबाट महिला र पुरुष गरी करिव ९० जना खेलाडीहरुले नाम दर्ता गरिसकेका छन् । यो क्रम अन्तिम समय सम्म बढ्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने–“पोखरा आउने खेलाडीहरुको संख्या १ सय भन्द वढि हुन सक्छन् त्यही अनुसार हामीले तयारी गरेका छौं ।”

नेपालबाट उक्त प्रतियोगितामा नवौं राष्ट्रियमा पदक विजेता खेलाडी संगै नयाँ खेलाडीलाई समेत अवसर दिइएको टिम म्यानेजर अर्यालले बताए । शुभ श्रेष्ठको प्रशिक्षणमा रहेका खेलाडीमा नवौं राष्ट्रिय खेलकुदमा पुरुषतर्फका स्वर्ण पदक विजेता बसन्त थारु, रजत पदक विजेता दिपेश चौधरी र रजत पदक विजेता मौलिक महर्जनले सहभागिता जनाउने छन् । बसन्त र दिपेश नेपाली सेनाका हुन् भने मौलिक नेपाल पुलिस क्लवका खेलाडी हुन् । यसै गरी महिलातर्फ नेपाल पुलिसकी श्रेवी महर्जन र नेपाल आर्मीकी केशरी थापा मगर छन् । उनीहरु दुवै जना नवौं राष्ट्रियका पदक विजेता खेलाडी हुन् । प्रतियोथिगतामा पोखराका एक मात्र खेलाडी डम्वर पुर्वाछानेको सहभागिता हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close