विश्वकप छनोटमा स्थान बनाउन सफल क्रिकेट खेलाडीले जनही ३ लाख पाउने

पोखरा स्पोर्टस । आईसीसी क्रिकेट विश्वकप लिग टू मा तेश्रो स्थान प्राप्त गर्न सफल हुँदै विश्वकप छनोटमा स्थान बनाउने नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई शुक्रबार एक कार्यक्रमका विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सदस्यलाई सम्मान गरेका हुन् । नेपालले बिहीबार टियू मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहदैं विश्वकप छनोटमा स्थान बनाएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको जितले खुसी लागेको बताउँदै बिहिबारको प्रदर्शनको उच्च प्रशंसा समेत गरे । उनले भने–“हिजो तपाँइहरूले जस्तो प्रदर्शन गर्नुभयो, त्यसबाट तपाँइहरूले मात्र जित्नुभएको छैन । देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ । राष्ट्रको गौरव बढेको छ ।”  उनले आगमी दिनमा समेत प्रदर्शनलाई यथावत राख्न शुभकामना समेत व्यक्त गरे ।

प्रधानमन्त्रीले यस अघि टोलीलाई जनही २ लाखका दरले पुरस्कार राशी घोषणा गरिएको जानकारी गराउँदै जनही थप तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा समेत गरेका हुन् ।

प्रधानमन्त्री दाहालले तत्काल टीयू क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिदै आवश्यक पर्ने श्रोत साधनको व्यवस्था नेपाल सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री दहालले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण गर्न प्रयास भइरहेको बताउदै चितवनको क्रिकेट रंगशालामा देखिएको प्राविधिक जटिलतालाई समाधान गरी अगाडि बढाउने बताए । “सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ नेपाल सरकारको तर्फबाट अगाडि बढाउने प्रयास भइरहेको छ । चितवनको क्रिकेट रंगशालामा देखिएको प्राविधिक जटिलतालाई पनि समाधान गरी अगाडि बढ्ने छौं ।” प्रधानमन्त्री दहालले भने– “यसले पनि नेपालको क्रिकेटलाई अझ उचाईमा पुर्‍याउन मद्दत पुग्छ भन्ने विश्वास मैले लिएको छु ।”

प्रधानमन्त्री दाहालले खेलाडीहरुको मेहनतले सबैले गर्वको अनुभूति गरेको भन्दै भने– “तपाईहरुको मेहनतले देशको गौरव बढेको छ । विश्व समुदायमा नेपालको प्रतिष्ठा उचो भएको सम्पूर्ण नेपालीले महशुस गरेका छन् । नेपाल सरकारले पनि त्यही महशुस गरेको छ । तपाईहरुको सफलताका निम्ति म नेपाल सरकार र मेरो तर्फबाट विशेष सम्मान व्यक्त गर्न चाहन्छु ।”

स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जिते लगत्तै गत महिना खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर सम्मान गर्दै जनही २ लाख दिने घोषण गरेका थिए । जस अनुसार अब खेलाडीले गत महिनाको घोषित र अहिले घोषित गरी ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताएका छन् ।

लिग टु मा ३६ खेलबाट ४० अंक जोड्दै नामिबियालाई पछि पारेको नेपालले जिम्बावेमा आगमी जुन–जुलाईमा हुने विश्वकप छनोटका लागि प्रतिष्पर्धा गर्नेछ । १० टिम सहभागि हुने खेलबाट शीर्ष दुई टोलीले अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

नेपालले यस अघि उच्च प्रदर्शनलाई कायम गर्दै एक महिनाको अन्तरमा १२ मध्ये ११ खेल जितेको छ । जसमा घरेलु मैदानमा भएको पछिल्ला दुई शृंखलाका चारै वटै खेल जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close