
पोखरा स्पोर्टस । नेपाल भारत मैत्रीपूर्ण दृष्टिबिहिन क्रिकेट सिरिज बिजेता नेपाली टिमलाई नगद सहित सम्मान गरिएको छ ।
नेत्रहीन क्रिकेट संघ नेपालले खेलाडीहरुलाई जनही नगद १० हजार सहित सम्मान गरेको हो । गत बैशाख १२ गते देखी १७ गते सम्म पोखरा र काठमाण्डौमा पाँच खेलको दोश्रो नेपाल–भारत द्विदेशिय टि–२० नेत्रहीन महिला क्रिकेट सिरिजमा नेपाली नेत्रहिन महिला क्रिकेट टोलिले भारत विरुद्ध ३–१ ले ऐतिहासिक सफलता प्राप्त गरेको थियो।
नेपाली राष्ट्रिय दृष्टिविहिन महिला क्रिकेट खेलाडीहरुलाई थप हौसला तथा प्रोत्साहन प्रदान गर्न संघले नगद सहित सम्मान गरेको जनाएको छ ।
भगवती भट्टराईको कप्तानीमा उत्रिएको नेपाली टोलीमा गिता पौेडेल (उपकप्तान) थिइन भने टिममा प्रतिभा राई, रिता थापा, मुना अर्याल, माया लुङ्गगेलि, सुस्मा तामाङ्ग, मनकेशरी चौधरी, कान्ती योगी, सरिता घिमिरे, वनिता मगर सोमाई, दिल्लीशरा धमला, विनिता पुन, निशा चौधरी, विमला राई रहेका थिए । टिमको प्रशिक्षकमा रिजन प्रजु रहेका थिए ।
अपाङ्गता भएका महिलालाई समाजले हेर्ने दृष्टिकोण निकै साघुरो रहेको अवस्थामा उक्त सोचलाई चिर्न संगै अवसर पाएमा उनीहरुमा पनि क्षमता हुन्छ भन्ने सन्देश प्रवाह गर्न विभिन्न सहयोगी हातहरुसंगको सहकार्यमा संघले नगद सहित पुरस्कृत गरेको जनाएको छ ।
दृष्टिबिहिन क्रिकेट प्रतियोगिता नेपाल बाट सुरुवात भएको हो । नेत्रहीन क्रिकेटको पुरुष तर्फको विश्वकप, एसिया कप लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता पुर्वक सहभागिता जनाएको छ भने महिलातर्फ हाल सम्म नेपाल शिर्ष स्थानमा रहन सफल भएको छ ।
