पोखरामा ‘कास्की एकता कप ह्याण्डबल प्रतियोगिता’ सुरु

पोखरा स्पोर्टस । पोखरामा नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता आइतबार देखि पोखरा रंगशालाको कभर्ड हल र ह्याण्डबल ट्रेनिङ सेन्टरमा संचालन भएको हो ।

आइतबार छात्र तर्फ ७ र छात्रा तर्फ लिग चरणका ४ खेल सम्पन्न भएको संघका सचिव टेक बहादुर गुरुङले बताए ।

छात्र तर्फको पहिलो खेलमा पोखरा एकेडेमीको ए समुहले राइजिङ स्टारलाई ३ का बिरुद्ध फराकिलो १२ गोलको अन्तरले पराजित गर्यो । अर्को खेलमा ज्ञान ज्योति बिद्या कुन्जले पोखरा लर्नस एकेडेमीलाई १ को बिरुद्ध १३ गोल बर्षायो । गण्डकी बोर्डिङले अर्को खेलमा अलफा बोर्डिङलाई १५-४ को गोल अन्तरले पराजित गर्दा अर्को खेलमा सरस्वती बिद्या सदनले रेन्बो एकेडेमीलाई ११-५ को गोल अन्तरले पराजित गर्यो ।

पोखरा एकेडेमी बी समुहले इरेन एकेडेमीलाई ६-४ को गोल अन्तरले पराजित गर्दा पोखरा एकेडेमी एले पोखरा लर्नर एकेडेमीलाई १४-२ को फराकिलो जित दर्ता गर्यो । ज्ञान ज्योति बिद्या कुन्जले राइजीङ स्टारलाई १२-४ को गोल अन्तरले पराजित गर्यो ।

त्यसै गरी आइतबार छात्रा तर्फ पोखरा एकेडेमी, गण्डकी बोर्डिङ, सृजना मावि र सरस्वती बिद्या आश्रमले लिग चरणको खेलमा जित हासिल गरेका छन्। पोखरा एकेडेमीले इरेन एकेडेमीलाई ५-१, गण्डकी बोर्डिङले अर्को खेलमा सरस्वती वोर्डिङलाई ११-०, सृजना माविले ज्ञान ज्योति बिद्या कुन्जलाई ४-३ को गोल अन्तरले पराजित गर्यो भने सरस्वती बिद्या आश्रमले पोखरा लर्नस एकेडेमीलाई ६-५ को गोल अन्तरले पराजित गरेको छ ।

फागुन ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको एक समारोहका बिच गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले रेफ्रिलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । कार्यक्रममा बोल्दै सांसद बरालले पोखराको खेलकुदको विकासमा यस्ता बिद्यालयस्तरका प्रतियोगिताहरु आवश्यक भएको बताए । संघ कास्कीका अध्यक्ष चित्र थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानिया, समाजसेवी (डब्लुओएन) जित बहादुर गुरुङ, सदस्य पदम नेपाली लगायतले वोलेका थिए ।

प्रतियोगिता अन्र्तगत छात्र तर्फ १३ र छात्रा तर्फ भने ८ टिमको सहभागिता रहेको आयोजक कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । प्रतियोगिता अन्र्तगत साविक विजेता छात्र तर्फ माउन्ट अन्नपूर्ण स्कुल हो भने छात्रा तर्फ गण्डकी बोर्डिङ स्कुल हो ।

प्रतियोगितामा छात्र तथा छात्रा तर्फका विजेताले जनही १० हजार, उपबिजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको संघ कास्कीका कार्यवाहक अध्यक्ष चित्र थापाले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित सम्मान गरिने भएको छ । “स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने उक्त खेलले बिद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्न थप मद्धत पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close