
पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकीले दौडको शहरको रुपमा परिचित पोखरामा शनिबार “प्रथम केपी ओली महिला तथा पुरुष सडक दौड प्रतियोगिता” आयोजना गर्ने भएको छ ।
नेकोसको राष्ट्रिय महाधिवेशनको पूर्व सन्धामा प्रचारात्मक अभियान अन्तर्गत उक्त प्रतियोगिता हुन लागेको नेकोस गण्डकीले जनाएको हो । नेकोसको दोश्रो राष्ट्रिय महाधिवेशन यहि फागुन ७ देखि ९ गते सम्म विराटनगरमा आयोजना हुँदैछ । प्रतियोगितामा महिलातर्फ ५ किमि र पुरुषतर्फ १० किमि दौड हुने नेकोस गण्डकीका अध्यक्ष विष्णु पुनले जनाएका छन् ।
पोखरा रंगशालाबाट सुरु हुने उक्त दौड पोखरा नगरको विभिन्न भाग हुँदै पुनः रंगशालामा आएर सम्पन्न हुने प्रतियोगिताका संयोजक वोधराज गिरीले पोखरा स्पोर्टलाई जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत १० किमि दौडतर्फ पहिलो, दोश्रो र तेश्रो हुनेलाई नगद १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गिरीले जानकारी दिए ।
त्यसै गरी महिला ५ किमि दौडमा पहिलो, दोश्रो र तेश्रो हुनेलाई नगद रु ७ हजार, ५ हजार र ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
विहान ७ बजे सुरु हुने दौडको अन्तिम दर्ता माघ २८ गते विहान पोखरा रंगशालामा हुने आयोजकले जानकारी दिएको छ ।
