
पोखरा स्पोर्टस । पोखरा रंगशाला टेनिस कम्लेक्समा जारी आइटिएफ टेनिस यू १८ टेनिस टुर जे–५ सर्किट–२ अन्तर्गत गर्ल्स सिंगल्सको फाइनलमा नेपाली खेलाडीद्वय सलोनी तामाङ र सर्भानी श्रेष्ठ भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमीफाइनलमा सलोनीले भारतिय खेलाडी रिया दुगडलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै सर्किट २ अन्तर्गत समेतमा फाइनल यात्रा तय गरेकी हुन् । उनी गत साता पोखरामा सम्पन्न सर्किट १ अन्तर्गतकी उपाधी विजेता हुन् ।
गर्ल्सतर्फ नै दोश्रो सेमीफाइनलमा नेपालकी नं १ वरियतामा रहेकी अभिलाषा विष्ट रिटायर्ड हर्ट हुँदै खेलबाट बाहिरिंदा सर्भानीले फाइनलमा पुग्ने अवसर पाइन । खेल शुरु भएको केही मिनेटमा बाहिरिएकी अभिलाषाले लगातार पाँच साता देखि लगातार प्रतियोगितामा सहभागिताले हातको नसामा दुखाई बढेको बताइन् । उनले पोखरा स्पोर्टस संग भनिन–“लगातार पाँच साता देखि ‘गेम’मा छु, त्यसैले अहिले समस्या आयो अव एक महिना ‘रेष्ट’ गर्छु ।” उनले यो जुनियरतर्फको प्रतियोगिता अन्तिम समेत भएको बताउँदै वोमेन्स सिनियरतर्फ आफू अघि बढ्ने जानकारी दिइन् ।
फाइनलमा भिड्ने सलोनी नेपाल वरियतामा तेश्रोमा स्थानमा छन् भने सर्भानी चौथो वरियताकी हुन् ।
यता ब्वाइज सिंगल्सतर्फको सेमिफाइनलमा अमेरिकाका तेश्रो वरियताका शिदार्थ लामा स्विडेनका आठौं वरियताका इमिलियो जियलकोस्की संग ६–२, ६–४ को सोझो सेटमा पराजित भएका छन् । इमिलियोले फाइनलमा हङ्गेरीका पाँचौ वरियताका लोरान्ट ग्योरी संग भेट पक्का गरेका छन् । हङ्गेरीका लोरान्टले दोश्रो सेमीफाइनल खेलमा अमेरिकाका मिथ्रे ब्यारोटलाई ६–३, ६–३ को सोझो सेटमा पाखा लगाएका हुन् ।
गर्ल्स डवल्सको उपाधि भारतलाई
प्रतियोगिता अन्तर्गत गर्ल्स डवल्सको उपाधि भारतिय जोडी नियती कुक्रेती र हाना नागपालले जितेको छ । सम्पन्न फाइनलमा उक्त जोडीले आफ्नै देशको जोडी रिया दुगर र तनुश्री पाण्डेको जोडीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेको हो ।
ब्वाइज डवल्समा अमेरिका र भारतको जोडी भिड्ने
यता ब्वाइज डवल्समा अमेरिका र भारतिय जोडी भिड्ने भएको छ । आज सम्पन्न सेमीफाइनलमा अमेरिकी जोडी शिदार्थ लामा र मिथ्रे ब्यारेटले रसियाका अमिर एसिलकोजेभ र हङ्गेरीका लरेन्ट ग्योरी सम्मिलित जोडीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरेको छ । उक्त सेमीफाइनल विजेता अमेरिकी जोडीले फाइनलमा भारतिय जोडी कविर छावरिया र दक्ष प्रसाद संग भिड्ने छ । भारतिय जोडी कविर÷दक्षले आफ्नै देशको जोडी चन्दन शिवराज र क्रिस त्यागीलाई सुपर टाइमा ६–३, ३–६ र (१०–६) ले पराजित गरेको हो ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा दुई साता देखि जारी प्रतियोगिता अन्तर्गतको सर्किट २ को फाइनल खेल शनिवार हुने संघका अध्यक्ष लोक बहादुर गुरुङले जनाएका छन् । प्रतियोगितामा नेपाल सहित १० देशका ८८ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
