पोखरा म्याराथनलाई सघाउने वडा–१२ का स्थानीयको प्रतिबद्धता

पोखरा स्पोर्टस। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सघाउने वडा नं. १२ का स्थानीयवासीले प्रतिबद्धता जनाएका छन् ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते पोखरामा आयोजना हुने १७ औं संस्करणकोे प्रतियोगितालाई सफल पार्न मञ्चले महानगरपालिकाका म्याराथन रूट अन्तर्गतका वडाबासीहरूसँग छलफल गर्दै आइरहेको छ ।

सोमबार आयोजित कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले खेलकुदको माध्यमबाट पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानमा सबैले साथ दिनुपर्ने बताए । यस संस्करणमा नेपालसहित २० राष्ट्रका धावकहरूले सहभागिता जनाउने भएकाले विभिन्न भेषभूषा तथा बाजागाजासहित खेलाडीहरूको मनोवल बढाउन उनले स्थानीयवासीलाई आग्रह गरे ।

वडा अध्यक्ष सन्तोष बास्तोला, सदस्य शान्तबहादुर थापा, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्णप्रसाद कोइराला, नेपाल रेडक्रस सोसाइटी उपशाखा १२ का सचिव गोविन्द घिमिरे लगायतले वडाले विगतका बर्षहरूमा जस्तै यसबर्षपनि वडाबासीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

फागुन ६ गते शनिबार हुने खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलोमिटर हाफ म्याराथन महिला प्रतियोगिता हुने छ । साथै महिला/पुरुष १० किमि दौड, विद्यालय स्तरीय छात्र/छात्रा ५ किमि, महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड र ‘रन फर फन’ समेत आयोजना हुनेछ ।

खुला म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close