‘एनसेल’–छैटौं टाइगर कप भलिबल प्रतियोगिताको ‘शीर्ष प्रायोजक’ मा

पोखरा स्पोर्ट्स । ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ को शिर्ष प्रायोजक एनसेल हुने भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालले यहि माघ ९ गते देखि १७ गते सम्म आयोजना गर्ने सो प्रतियोगिताको शिर्ष प्रायोजकमा एनसेल पक्का भएको जनाएको हो । टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले सो जानकारी दिंदै पोखरा स्पोर्ट्सलाई भनेका छन्–“हामी छैटौं टाइगर कप २०२६ का लागि एनसेललाई टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा अत्यन्त उत्साहित छौँ ।”

उनले थप भनेका छन्–“देशकै सबैभन्दा प्रतिष्ठित भलिबल च्याम्पियनसिपहरू मध्येको तयारी गर्दै गर्दा, एनसेलजस्तो बलियो साझेदारको साथले खेलकुद प्रवर्द्धन गर्ने र खेलाडीहरूलाई समर्थन गर्ने हाम्रो अभियानलाई अझ सशक्त बनाएको छ।”

एनसेल पाँचौ सस्करणको समेत मुख्य प्रायोजक रहेको थियो ।

प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ६ गरी १२ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा पुरुषतर्फ तीन विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबको सहभागिता हुने छ भने त्यस्तै गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ र मालदिभ्स भलिबल एशोसिएसन क्लबको सहभागिता हुनेछ ।

यसै गरी महिलातर्फ तीन विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसहित एभरेष्ट भलिबल क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र थाइल्याण्ड क्विन्सको सहभागिता हुनेछ ।

‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ को संयोजकमा राजकुमार गुरूङ र सहसंयोजकमा डोलराज पोखरेल ९डिआर० रहेका छन् भने मुल आयोजक समितिको संयोजकमा अध्यक्ष शर्मा छन् ।

प्रतियोगितालाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न १०७ सदस्यीय मुल आयोजक समितिसहित १४ वटा विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको सचिव डिबी नेपालीले जानकारी दिए ।

छैटौ संस्करणको च्याम्पियन हुने महिला तथा पुरूष दुबैतर्फ बिजेता टोलीले ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले २ लाख ६ हजार ६६६ हात पार्नेछन् ।

यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close