
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोश्रो अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् । सो अवसरमा प्रमुख आचार्यले खेलाडीहरूको क्षमता अभिवृद्धिसहित थप अवसर सृजना गर्न बेलाबखत प्रतियोगिता भइरहनुपर्ने बताए ।
खेलकुदले अनुशासित नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रमुख आचार्यले व्यक्त गरे । पोखरा महानगरले हाइअल्टिच्यूड भलिबल प्रतियोगिताको तयारी गरिरहेकोले पनि यो प्रतियोगिता आफ्नो तयारीका लागि समेत महत्वपूर्ण हुने उनले उल्लेख गरे ।
उद्घाटन कार्यक्रम पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको थियो ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन सोमबार पुरुषतर्फका ८ खेल सम्पन्न भएका छन् । जसमा पोखरा–२३ ले पोखरा–१५, पोखरा–२४ ले पोखरा–१४, पोखरा–१६ ले पोखरा–७, पोखरा–१८ ले पोखरा–३१ लाई सोझो सेटमा, पोखरा–२० ले पोखरा–१९ लाई, पोखरा–२१ ले पोखरा–३३ लाई, पोखरा–३२ ले पोखरा–२२ लाई, पोखरा–२५ ले पोखरा–२८ लाई २–१ को सेटमा पराजित गरे । खेल जितेको पोखरा–२५ को टिमलाई प्रोटेस्ट परेपछि पोखरा–२८ स्वतः क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनल र सेमिफाइनलका खेल मंगलबार हुने छन् । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको फाइनल बुधबार दिउँसो हुनेछ ।
प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् भने विद्यागततर्फ उत्कृष्ट हुने महिला र पुरुषतर्फ ५–५ जना खेलाडीले जनही नगद ५–५ हजार प्राप्त गर्ने समितिका सदस्य सचिव सुभाष खड्काले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ टिमको सहभागिता छ । प्रतियोगितामार्फत उत्कृष्ट टिम घोषणा गरिने र अन्तर नगरपालिका भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाको तर्फबाट सहभागिता जनाउने छ आयोजकले जनाएको छ ।
