आइटीएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा : सिंगल्सतर्फको फाइनलमा शिभाली, डबल्सतर्फ उपाधि हातमा

पोखरा स्पोर्ट्स । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा स्टेडियमस्थित टेनिस कम्प्लेक्समा जारी आइटीएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिभाली गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै गर्ल्स सिंगल्सतर्फको फाइनलमा स्थान बनाएकी छन् । साथै उनले शुक्रबार भएको गर्ल्स  डबल्स फाइनलमा ताइपेइकी के–चि सुसँग जोडी बनेर उपाधि जितेकी छन् ।

जारी प्रतियोगिता अन्तर्गत ब्वाइज सिंग्लसमा ताइपेइका टिङ–हो याङले चिनका जियालियाङ गुओलाई ६–२ ६–२ ले पराजित गर्दै फाइनल यात्रा तय गर्दा युल हो जुङ (दक्षिण कोरिया) ले गनुका फर्नान्डो (श्रीलंका) लाई ६–३ ६–० ले सहज जित हात पार्दै टिङ हो याङसँग फाइनल भिडन्त पक्का गरेका छन् ।

त्यस्तै नेपालकी शिभाली गुरुङले भारतकी कर्थिका पद्मकुमारलाई संघर्षपूर्ण खेलमा ६–३ ५–७ ६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी छन् । उनले जारी प्रतियोगिताको सर्किट १ मा समेत उपाधि जितेकी थिइन् । उनले फाइनलमा सर्किट १ कै उपविजेता रहेकी ताइपेकी के–चि सुसँग भेट पक्का गरेकी छन् । के–ची सुले सेमीफाइनलमा भारतकी शतक्शिका सहायकलाई ६–१ ६–४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिन् ।

यता ब्वाइज डबल्स फाइनलमा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६(४) ले पराजित गर्दै उपाधि जिते भने गर्ल्स डबल्समा नेपालकी शिभाली गुरूङ र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–२ ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारे ।

सिंगल्सतर्फका फाइनल खेलहरु भोली (शनिबार) हुने कास्की टेनिस संघका सचिब भिष्मराज पौडेलले जानकारी दिएका छन् ।

दुई साता सम्म लगातार सञ्चालन भएको प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको थियो । आठौं सस्करणको उक्त प्रतियोगिता सम्पन्न गर्न १८ लाख ७० हजार खर्च हुने अनुमान कास्की टेनिसले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close