बगर भाइ खलक एट ए साइड :  उपाधिका लागि दिप युनाइटेड र ठमेल भेट्रान भिड्ने

पोखरा स्पोर्टस । ‘प्रथम हिमालयन ब्रुअरी तथा बाह्रौं बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’अन्तर्गत उपाधिका लागि पोखराको दिप युनाइटेड क्लव र काठमाण्डौको ठमेल ११ भेट्रान भिड्ने भएका छन् ।

बगर भाइखलकको आयोजनामा पोखराको ऐतिहासिक टुँडीखेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा फाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो । शनिबार सम्पन्न दुई छुट्टा–छुट्टै सेमीफाइनलबाट पोखराको स्थानिय दिप युनाइटेडले प्रतियोगिताको उपाधि दावेदार मानिएको फ्रिडम फाइटर ‘ए’ र ठमेल ११ ले थापा गाउँ भेट्रानलाई पराजित गरेका थिए ।

सम्पन्न खेलमा ठमेलले थापा गाँउलाई २–० गोलले पराजित गरेको छ । पूर्व राष्ट्रिय टिम कप्तान सागर थापा सहभागि उनले टिमका लागि दुई गोल गरे । सागरले खेलको २७ औं ४३ औं मिनेटमा गोल गरे । टिम कप्तान समेत रहेका सागर खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

यस्तै अर्को एक सेमीफाइनलमा दिप युनाइटेडले पाहुना टोली फ्रिडम फाइटरलाई १–० गोलले पाखा लगाउँदै उपाधि होडमा आफूलाई उभ्याएको छ । दिपका अन्तिम गुरुङले खेलको ३७ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै टिमलाई जित दिलाएका थिए । फ्रिडमका राजकुमार घिसिङले पेनाल्टी एरियामा ह्याण्ड गर्दा दिपले पेनाल्टीको अबसर पाएको थियो । खेलमा दिपका गोलकिपर हिटलर घले म्यान अफ दि म्याच घोषित भए ।

‘स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नाराका साथ सुरु भएको उक्त प्रतियोगितामा भारत देहरादुनको एक टिम सहित २४ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी सहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने दुइ टिमलाई २०–२० हजार आयोजकले उपलब्ध गराउने बताएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिएको छ ।

फाइनल खेल आइतबार दिउँसो २ बजे सुरु हुने आयोजक संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close