माउण्ट अन्नपुर्णमा ‘विन्टर स्पोर्टस क्याम्प’ सम्पन्न

पोखरा स्पोर्टस । माउन्ट अन्नपूर्ण मावि द्वारा आयोजित ‘छिमेकी मैत्री विद्यालय’ कार्यक्रम अन्तर्गत एक हप्ते ‘विन्टर स्पोर्टस क्याम्प’ सम्पन्न भएको छ । 

पोखरा महानगर वडा नं. ३ मा अवस्थित उक्त विद्यालयले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समेटेर जाडो बिदाको समयलाई सदुपयोग गर्न तथा विद्यार्थीहरुलाई खेलकुद र रचनात्मक कृयाकलापमा सहभागि गराउन उक्त कार्यक्रमको आयोजना गरेको हो । यस्तो कार्यक्रम आयोजना गर्ने अन्नपूर्ण मावि पोखराको पहिलो विद्यालय समेत हो । 

गत माघ ३० गतेबाट सुरु भएको उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पहिलो चरणको कार्यक्रम अन्तगर्त पोखराका विभिन्न विद्यालयका ९३ जना विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयले जनाएको छ । विद्यालयले अभिभावकहरुको मागलाई ध्यानमा राख्दै प्रत्येक शनिबार कार्यक्रम जारी राख्ने बताएको छ ।

स्पोर्टस क्याम्प अन्तर्गत एथलेटिक्स, थ्रो बल, ह्याण्डबल र बास्केटबलका प्रतियोगिता संगै प्रशिक्षण समेत गराइएको विद्यालयका सञ्चालक समेत रहेका चिजकाजी गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए । ति खेलमा विजेता रहेका खेलाडीहरुलाई समेत विद्यालयले पुरस्कृत गरेको छ ।

समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष प्रकाशमान उदासले आफ्ना भनाई राख्दै जाडो बिदाको समयमा विद्यालयले आयोजना गरेको कार्यक्रमले घरमा मोवाइल तथा अन्य बिभिन्न अनावश्यक कुरामा अल्झिने बालवालिकाहरुलाई यसले सकारात्मक प्रभाव पार्ने बताए । सो अवसरमा उनले कार्यक्रमलाई सहयोग गर्ने तथा विजयी खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।

नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तथा विद्यालयका डाइरेक्टर तेज बहादुर गुरुङले खेलले विद्यार्थीहरुलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै स्वस्थ्य भएपछि अध्ययनमा समेत पनि मद्धत पुग्ने उल्लेख गरे । उनले भने–“बालबालिकाको सर्वागिङ्ग विकासमा खेलकुदले राम्रो योगदान दिनसक्छ, त्यसैले पनि यो कार्यक्रम प्रभावकारी छ ।”

सो अवसरमा बोल्दै वृहत् नारायणथान क्षेत्र विकास समितिका सचिव तथा पोखरा महानगर वडा नं. ३ का वडासदस्य सनकमान सिकेले विद्यालयले गरेको खेलकुदको कार्यक्रर्म प्रशंसनिय रहेको बताए ।

विद्यालयका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा, कार्यक्रमका संयोजक अशोक कुमार शाही, विद्यालयका लेखा प्रमुख नबराज शर्मा पौडेलले समेत आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा वडा नं. ३ मा अवस्थित ८ वटै टोलका अध्यक्षहरु तथा प्रतिनिधिहरु, वडाका यूवा क्लबहरु, बुहारी समुह, नेवा मिसा पुच, गुठी तथा समाजघरका अध्यक्ष, विद्यालय प्रशासनका सदस्यहरु, कक्षा ११ तथा १२ मा क्रियाशिल स्पोर्टस क्लवका विद्यार्थीहरु तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close