
पोखरा स्पोर्टस । पोखरा रंगशालाकी छोरी सन्ध्या थापालाई अस्ट्रेलियाका डग ग्रान्टले थप सहयोग गरेका छन् । सन्ध्याको अध्ययन अध्यापनका लागि दुई वर्ष अघि सहयोग गरेका उनले थप ५५ हजार सहयोग गरेका हुन् ।
डग ग्रान्टले सहयोग वापत अस्ट्रेलियाबाट पठाएको उक्त रकम उनका मित्र तथा कास्की टेनिसका निर्वतमान अध्यक्ष दोर्जे लामा तामाङले हस्तान्तरण गरेका छन् । ६ वर्षकी सन्ध्या अहिले एसओएस हर्मन माइनर स्कुलमा अध्ययनरत छिन् ।
६ वर्ष अघि पोखरा रंगशालामा वेवारेसी अवस्थामा फेला परेकी सन्ध्यालाई रंगशालामा अस्थायी कर्मचारीको रुपमा कार्यरत विभा नेपालीले पालन पोषण गर्दै आएकी छन् ।
रकम हस्तान्तरण गर्दै लामाले उक्त रकम सन्ध्याको शिक्षाका लागि महत्वपूर्ण हुने बताए । आफ्ना मित्र डग ग्रान्टले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै आगमी दिनमा आफूले पनि थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सहयोगी डग ग्रान्ट केही दिन अघि मात्रै परिवार सहित नेपाल आएका थिए ।
