टाइगर कपमा सहभागिता जनाउन श्रीलंकाको टोली नेपालमा

पोखरा स्पोर्टस । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ मा सहभागि विदेशी क्लव श्रीलंकाको पुरुष टिम नेपाल आइपुगेको छ ।

यहि माघ ८ गतेबाट पोखरा रंगशालामा सुरु हुने उक्त प्रतियोगितामा पुरुषतर्फ सहभागि श्रीलंकाको टिम सेन्ट जोशेफ वाज कलेज भलिबल क्लब नेपाल आइपुगेको हो । उनीहरुलाई टाइगर ग्रुपका सदस्य एवम गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ, नेपाल भलिबल संघका कोषाध्यक्ष श्याम श्रेष्ठ, पूर्व राष्ट्रिय टिम कप्तान भरत शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

तिन अफिसियल र १२ खेलाडी गरी १५ सदस्यिय श्रीलंकाको टोली बिहिबार नै पोखराका लागि काठमाण्डौबाट प्रस्थान गर्ने गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

माघ १४ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पहिलो पटक दुई बिदेशी क्लबसहित महिला र पुरुषतर्फ ५–५ टिम गरी १० टिमको सहभागिता रहेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।

राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ भारतिय क्लब केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत र पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउँदै छन् ।

प्रतियोगितामा महिलातर्फ केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरीको नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् । गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो ।

पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबसहित सेन्ट जोशेफ वाज कलेज भलिबल क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको छ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई रु ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने सस्थाका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिएका छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षण बनाउनका र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गर्ने तयारी समेत रहेको संस्थाका कोषाध्यक्ष हरिकुमार श्रेष्ठले जनाएका छन् ।

प्रतियोगितामा वृद्ध–वृद्धाहरुलाई खेल हेर्न छुट्टै व्यवस्थाका साथै प्रतियोगिता स्थलमा एलइडि स्क्रिन, डिजिटल स्कोर बोर्डको व्यवस्था गरी प्रविधिलाई पनि अन्तर्राष्ट्रियस्तरको बनाइदैछ ।

प्रतियोगिता सफल बनाउन आयोजक सस्था टाइगुर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै प्रतियोगिताको सस्थाका उपाध्यक्ष देवेन्द्र केसीको संयोजकत्वमा विभिन्न ११ उपसमिति गठन गरिएको छ ।

सुश्री मिडिया प्राली काठमाण्डौको विशेष समन्वय तथा राष्ट्रिय खेलकुद परिषद, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिकाको सहयोगमा आयोजना हुने प्रतियोगितालाई नेपाल भलिबल संघले स्विकृती प्रदान गरेको संस्थाका सचिव डिबी नेपालीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close