एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप : पुलिस र हेल्प नेपाल च्याम्पियन

पोखरा स्पोर्टस । नेपाल पुलिस क्लब लामो समय पश्चात साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित गर्दै महिला तर्फ सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियन बन्न सफल भएको छ ।

निकैनै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट डायमण्डले २५–२२ ले जितेको हो । दोश्रो सेटमा खेलमा फर्कदै पुलिसले २५–१७ ले खेललाई आफ्नो पक्षमा पार्दै १–१ को बराबरीमा ल्यायो । यस्तै तेश्रो सेट निकैनै संघर्षका साथ डायमन्डले २७–२५ ले आफ्नो पक्षमा पार्‍यो । तर चौथो सेट पुन पुलिसले २५–१९ ले जित्दै खेललाई २–२ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक खेलमा पुलिसले १५–११ ले जित्दै सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको हो ।

पहिलो संस्करणमा च्याम्पियन बनेको पुलिसले दोश्रो पटक च्याम्पियन बन्न लामो समय कुर्नु परेको थियो । पुलिसले नगद ४ लाख प्राप्त गर्‍यो भने उपविजेता डायमन्डले २ लाख प्राप्त गर्‍यो ।

यस्तै तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा साविक उपविजेता एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटमा पराजित गर्दै तेश्रो हुन सफल भएको हो । पहिलो दुई सेट २५–१६ र २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफ तेश्रो र चौथो सेट २१–२५, २१–२५ ले आर्मीलाई सुम्पन पुग्यो । अन्तिम तथा निर्णायक सेटमा १७–७ को जित निकाल्दै एपिएफ तेश्रो हुन सफल भयो । एपिएफले नगद १ लाख प्राप्त गर्‍यो ।

नेपाल भलिबल संघको आयोजनमा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा पुरुष तर्फ टिपटप हेल्प नेपालले सातौं सस्करणको उपाधी उचालेको छ । पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिप उपाधी जितेको हो । हेल्प नेपालले आर्मी माथि २५–२१, २६–२४ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो ।

यस्तै एपिएफले नेपाल पुलिस क्लबमाथि ३–२ को जित निकाल्दै च्याम्पियनसिपमा तेश्रो स्थान सुरक्षित गर्‍यो । एपिएफ १५–२५, २५–२०, २५–२३, २५–१८ ले पुलिसलाई पछाडी धकेल्दै तेश्रो भएको हो । पुलिसले नगद १ लाख प्राप्त गर्‍यो ।

को–को बने उत्कृष्ट

च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा महिला तर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी र पुरुष तर्फ टिपटप हेल्प नेपालका मुवासर राजा घोषित भए ।

च्याम्पियनसिपमा उत्कृष्ट सेटरमा महिला तर्फ पुलिसकी कमला पुन र पुरुष तर्फ आर्मीका हरिहजुर थापा भए । यस्तै डिफेन्स तर्फ न्यू डायमन्डकी सलिना श्रेष्ठ र टिपटप हेल्प नेपालका दीपक थापा रहे । सर्भर तर्फ महिलामा आर्मीकी संगम महतो र पुरुष तर्फ टिपटप हेल्प नेपालका मुवासर राजा रहे ।

यस्तै वेष्ट ब्लकरमा महिला तर्फ एपिएफकी कविता भट्ट र पुरुष तर्फ नेपाल पुलिस क्लबका नविन नगरकोटी रहे । वेष्ट स्पाईकरमा महिला तर्फ न्यू डायमण्डकी प्रतिभा माली र पुरुष तर्फ आर्मीका धन बहादुर भट्ट रहे । वेष्ट कोचमा महिला तर्फ नेपाल पुलिसका रुपेश बिष्ट र पुरुष तर्फ टिपटप हेल्प नेपालका उत्सव खड्का रहे ।

च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।

बिजयी खेलाडीहरुलाई नेपाल सरकारका मन्त्री दामोदर भण्डारी, प्रतिनिधी सभा साँसद जीवन परियार लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close