पोखरा स्पोर्टस । कास्कीमा पालिकास्तरिय महिला तथा पुरुष भलिवल प्रतियोगिता आगामी मंसिरको तेश्रो साता हुने भएको छ ।
पोखरा महानगर खेलकुद विकास समिती र जिल्ला भलिवलको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । गण्डकी प्रदेशमा आगामी फागुनमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अनुरुप पहिलो चरणमा कास्कीको पालिकास्तरिय प्रतियोगिताको आयोजना गर्न लागिएको कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीले पोखरा स्पोर्टसलाई जनाएका हुन । उनले भने–“पहिलो चरणमा कास्की बाट खेलाडी छनोटका लागि यो प्रतियोगिताको तयारी थालेका हौं गाउँका कुना कन्दरामा रहेका खेलाडीहरु पोखरामा उर्तादै छौं ।”
पोखरा महानगर खेलकुद विकास समिती र जिल्ला भलिवलको संयुक्त आयोजना हुने उक्त प्रतियोगितामा पोखरा महानगर, अन्नपूर्ण गाउँपालिका, रुपा गाउँ पालिका, मादी गाउँपालिका र माछापुच्छ्रे गाउँ पालिकाका महिला तथा पुरुषको २–२ टिम गरी कुल २० टिमको सहभागिता हुने पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदारले बताए ।
मंसिर १६ देखि १८ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने महिला तथा पुरुष टिमलाई क्रमश नगद रु १ लाख ११ हजार १ सय ११, ५५ हजार ५ सय ५५ र ३३ हजार ३ सय ३३ रुपैयाँका साथमा कप मेडल र प्रमाणपत्र वितरण गरिने छ । त्यसै गरि महिला पुरुष दुवै तर्फ उत्कृष्ट विद्यागततर्फ समान नगद रु ५–५ हजार प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च लाग्ने जनाइएको छ ।
