टाइगर ग्रुपद्वारा कार्यालय स्थापना, अरुणाको कप्तानीमा महिला टिम, टाइगर कपको तयारी शुरु

पोखरा स्पोर्टस । खेलकुद विकास र सामाजिक क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले आफ्नो कार्यालय स्थापना गरेको छ ।

टाइगर ग्रुपले आयोजना गर्ने ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप पुरुष/महिला प्रतियोगिता’ सञ्चालन लगायत अन्य कार्यको सहजताको लागि कार्यालय स्थापना गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका हुन् । संस्थाले पोखरा-१० वुद्धचोकमा आफ्नो कार्यालय स्थापना संगै पुषको २६ गते देखि माघ १ गते सम्म हुने प्रतियोगिताको तयारी समेत शुरु गरिसकेको पोखरा महानगर पालिकाका वरिष्ठ कानुन अधिकृत समेत रहेका शर्माले जानकारी दिए ।

अरुणाको कप्तानीमा महिला टिम
टाइगर ग्रुपले ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप पुरुष/महिला प्रतियोगिता’मा नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा संस्थाले आफ्नै महिला टिम मैदानमा उतार्ने भएको छ । कुनै समय गण्डकी प्रदेशबाट उत्पादित महिला खेलाडीहरुले धानेको राष्ट्रिय टिम यति बेला महिला खेलाडीहरुको न्यून उपस्थितीले गण्डकी महिला भलिबलतर्फ कमजोर बन्दै गएको र नवौं राष्ट्रिय खेलकुद समेत मध्येनजर गर्दै महिला खेलाडी उत्पादनका हेतु संस्थाले आफ्नै नाममा महिला टिम उर्ताने भएको अध्यक्ष शर्माले पोखरा स्पोर्टसलाई बताए । “ महिला टिमको सहभागिताले गण्डकीका लागि समेत खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्नेछ भन्ने विश्वास लिएका छौं,”उनले भने ।

टिममा विदेशी खेलाडी भित्र्याउन पाउने
यहि पुषको २६ गते देखि माघ १ गते सम्म हुने दोश्रो आमन्त्रित पुरुष/महिला राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता’मा सहभागी टिमहरुले आफ्नो टिममा विदेशी भित्र्याउन पाउने भएका छन् । टाइगर ग्रुपका कार्यसमितिका सदस्य डिवी नेपालीका अनुसार टिममा नेपाल भलिबल संघको नियमनुसार विदेशी खेलाडी भित्र्याउन पाउने पोखरा स्पोर्टसलाई बताउँदै भने–“हामी यो पटक प्रतियोगितामा केही रोमञ्चकता भर्न चाहन्छौ भने विदेशी खेलाडी बाट समेत नेपाली खेलाडीले सिक्ने अवसर समेत हुनेछ ।”

प्रतियोगितामा महिला/पुरुष विभागिय टिमहरु सहित विभिन्न राष्ट्रिय क्लवस्तरिय टिमहरुको सहभागिता हुने आयोजकले जनाएको छ । गण्डकीबाट पुरुष टिम मैदानमा उत्रिने छ । गण्डकी प्रथा संस्करणको उपाधी विजेता टिम समेत हो । गण्डकीले पहिलो सस्करणमा नेपाल आर्मीलाई पराजित गर्दै उपाधी जितेको थियो ।

पुरस्कार राशी दोब्बर
यहि पुषको २६ गते देखि माघ १ गते सम्म हुने दोश्रो आमन्त्रित पुरुष/महिला राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता’मा आयोजक टाइगर ग्रुपले पुरस्कार राशी समेत पहिलो संस्करण भन्दा दोब्बर पारेको छ । महिला/पुरुष उपाधी विजेता टिमलाई समान नगद रु ३/३ लाख, उपविजेता महिला/पुरुष टिमलाई समान नगद रु १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई समान नगद रु ७५ हजार र सान्त्वना हुने महिला/पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने निर्णय गरिसकेको अध्यक्ष शर्माले बताए ।

कस्तो हुँदैछ तयारी
पोखरा रंगशालामा हुने आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि टाइगर ग्रुपले यो पटक विशेष तयारी थालेको छ । प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन आयोजक समिती निर्माण गरी अघि बढेको टाइगर ग्रुपले यो पटक विशेष प्रकारको ‘फोल्डिङ’मञ्च निर्माण गरिने छ भने १५ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिने अध्यक्ष शर्माले पोखरा स्पोर्टसलाई बताए । वृद्ध–वृद्धालाई खेल हेर्न छुट्टै व्यवस्था संगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई विशेष सुविधा दिइने उनको भनाई छ । प्रतियोगिताको संयोजक शिव श्रेष्ठ र गोविन्द थापा मगर रहेका छन् ।

सहयोगका लागि आह्वान
टाइगर ग्रुपले आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी शुरु गरे संगै सवै संग आर्थिक तथा भौतिक सहयोगका लागि आह्वान गरेको छ । अध्यक्ष शर्माले प्रतियोगिताका लागि मुख्य प्रायोजक तथा सहयोगी संस्थाहरुको प्रक्रिया अघि बढाइएको जानकारी दिंदै प्रतियोगिताका लागि प्रायोजन गर्न केही संस्थाहरु अघि सरेको बताए । उनका अनुसार मुख्य प्रायोजकको राशी २० लाख, प्रायोजक १५ लाख तथा सह प्रायोजक १० लाख तोकिएको छ ।

प्रतियोगितालाई भव्य संगै मर्यादित रुपमा अघि बढाउन सबैको सहयोगको खाँचो औल्याउँदै स्वदेश तथा विदेशबाट प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक एवम नैतिक सहयोगका लागि समेत उनले आग्रह गरेका छन् । प्रतियोगिताका लागि गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयको विशेष आर्थिक सहयोग रहने उनले जानकारी दिंदै गत संस्करणका लागि सहयोग गर्ने सम्पुर्ण सहयोगीहरु संघ संस्थालाई समेत आभार व्यक्त गर्दै दोस्रो सस्करण सफल बनाउन समेत सहयोगका लागि उनले आग्रह गरे ।

विश्वभर कोभिड १९ को सक्रमणको अवस्था केही निस्तेज भइरहेको शुखद समाचार आइरहेको भए पनि केही देशमा देखिएको नयाँ सक्रमणले प्रतियोगितालाई समेत वाधा पुग्न सक्ने बताउँदै त्यस्तो अवस्था आएमा प्रतियोगिता केही पर सर्न सक्ने अध्यक्ष शर्माले औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close