
पोखरा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले निर्धारित मितिमै १३ औं दक्षिण एसियाली खेलकुद (साग) हुने बताएका छन । साग तयारी र योजनाको जानकारी लिन साउथ एसियन ओलम्पिक काउन्सिल र ‘सेफ दि मिसन’को टोलीसँगै पोखरा आएका सदस्य–सचिव सिलवालले यहाँ आयोजित पत्रकार सम्मेलनमा सागको तयारी अन्तिम चरणमा पुगेको समेत उल्लेख गरे ।
प्रतियोगितालाई सफलतासाथ सम्पन्न गर्नेगरी तयारी थालिएको उनको कथन थियो । उनले प्रतियोगिता अवागै पूर्वाधार निर्माणका कार्यहरु सक्ने बताए । सहभागी राष्ट्रसँग आफूहरुले साग तयारीबारे संपूर्ण जानकारी गराइसकेको उनले उल्लेख गर्दै सदस्य सचिव सिलवालले सहभागी राष्ट्रहरु समेत साग आयोजना र व्यवस्थापनप्रति विस्वस्त रहेको बताए ।
सदस्य–सचिव सिलवालले खेलस्थलको तयारी पनि अन्तिम चरणमा पुगेको बताउँदै दुई/तीन वटा खेलस्थलबाहेक सबै खेलस्थलहरुको निर्माण कार्य करिब करिब पूरा भएको उनले दोहो¥याए । सिलवालले हिटिङ स्विमिङ पुल एक हप्तामा पूरा हुने जानकारी दिंदै दशरथ रंंगशालाको भीआइपी प्यारापिटमा सिट राख्ने कार्य आजभोली नै पूरा हुने उनको दाबी थियो ।
पोखरा रंगशालाको निर्माण कार्य समेत तीब्र रुपमा अघि बढेको बताउँदै सदस्य सचिब सिलवालले भने–‘पोखराको फुटबल मैदानमा दुबो लगाउने काम सकिएको छ,’ उनले भने, ‘ट्रयाक एण्ड फिल्डका कामहरु अघि बढेका छन् । ग्राण्ड स्टाण्डका समानहरु भन्सार सम्म आइपुगेको छ । त्यसलाई छुटाएर ल्याउने काम मात्रै बाँकी छन् । समान आइपुगेको मितिले ग्राण्ड स्टाण्डलाई पाँच दिनभित्र फिट गरेर सकिन्छ । सागका लागि अहिले चार साइडमध्ये दुई साइड मात्रै १० हजार क्षमताको प्यारापिट बन्छ ।’
पोखराले स्पोटर््स् भेन्यू पाएको मध्ये ब्याडमिन्टनको खेल पूर्वाधार हप्ता दिनभित्र सकिने उनले बताए । चौर सम्याउने बाहेक आर्चरीको अन्य काम बाँकी नरहेको उनले उल्लेख गरे । कभर्डहल, भारोत्तोलन, ट्राइयाथलनका लागि पूर्वाधारको समस्या नरहेको उनले विश्वस्त पारे ।
साग गेमका लागि नेपालको तयारीमा कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै सदस्य–सचिव सिलवालले १३ वटा खेलको असार अघि नै र बाँकी खेलको साउन बाट बन्द प्रशिक्षण थालिएको उल्लेख गरे । देशभित्रको स्वदेशी, तथा विदेशी प्रशिक्षकद्वारा विदेशमा प्रशिक्षण एवं प्रतिस्पर्धा गराएर सागका लागि खेलाडी तयार पारिएको उनको कथन थियो ।
‘नेपाली खेलाडीहरुले प्रभावकारी परिणाम ल्याएका छन्,’ उनले भने, ‘हिजो मात्रै चाइना ओपनमा १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । बंगलादेशको प्रतियोगितामा सहभागी नेपाली खेलाडीले ८ वटा स्वर्ण पदक २ रजत र ३ कास्य पदक गरेका छन् ।’
सागप्रति मिडिया क्षेत्र संंवेदशील बन्न पनि सिलवालको आग्रह गर्दै साग अवधिभित्र आयोजकको तर्फबाट भएका गल्ती कमजोरीहरुलाई घरभित्रै रहेर कमी कमजोरीलाई औंल्याइदिन उनले आग्रह गरे । मिडिया क्षेत्र सागप्रति जिम्मेवार बन्न उनको आग्रह थियो । ‘मिडिया क्षेत्र पनि देशको जिम्मेवार हाम्रो ईज्जत र प्रतिष्ठाभित्र तपाँईहरुको पनि ईज्जत र प्रतिष्ठा पर्छ,’ उनले भने, ‘मिडिया संप्रेषणमा तद्नुरुप गरिदिन पनि म आग्रह गर्दछु । यसमा हाम्रोसँगै तपाँईहरुको पनि भूमिका ठूलो छ ।’
सागका बारेमा अब आशङ्का राख्नु प्रदैन : अध्यक्ष श्रेष्ठ
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम प्रतिनिधी सभा सांसद जीवनराम श्रेष्ठले नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुदमा आशंका राख्न नर्पने बताएका छन ।
हालैमात्र बसेको साउथ ओलम्पियन कमिटीको काउन्सिल र सेफ दि मिसनको टोली निर्धारित समयमै साग गर्ने निष्कर्षमा पुगेको श्रेष्ठले जनाए । नेपालमा निर्धारित समयमै शत प्रतिशत रुपमा आयोजना हुने कुरामा श्रेष्ठले सबै साग राष्ट्र विश्वस्त भएको बताए । आयोजकका राष्ट्रका सरकारले आफ्नो प्रतिबद्धता जनाउने र उनीहरुको जिज्ञाशा मेटाउने काम भइसकेको उनले बताए ।
श्रेष्ठले सरकारले जनाएको प्रतिबद्धताप्रति नेपाल ओलम्पिक कमिटी र साउथ एसियन ओलम्पिक कमिटी विश्वास लिएको बताए । काउन्सिल र मिसनको टोलीले गरेको स्पोर्टस् भेन्यूको भ्रमणले पनि आशंक द्विविधामा पूर्ण विराम लागेको उनको कथन थियो । ‘काउन्सिल र मिसन टोलीको स्पोर्ट्स् भेन्यूको भिजिट भएको छ,’ श्रेष्ठले उल्लेख गरे, ‘नेपालमा साग नहुने हो कि, खेल मिति सर्ने हो कि भन्ने आम नागरिकको आशंकालाई स्पोर्टस् भेन्यूको भिजिटले समाप्त पारिदिएको छ ।’
साग पोखरा प्रचार प्रसार तथा प्रकाशन समितीको आयोजनामा भएको पत्रकार सम्मेलनमा साग पोखरा सहजीकरण समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रतियोगिता अगावै सम्पूर्ण तयारी सकेर प्रतियोगितालाई भव्य बनाउने बताइन ।
यसैबीच, आइतबार विहान साग गेम सहजीकरण समिति पोखरा, साउथ एसियन ओलम्पियन कमिटीको काउन्सिल र सेफ दि मिसनको शंयूक्त बेठक बसेको थियो । काउन्सिल र मिसन टोलीले सहजीकरण समितिसँग पोखराको खेलस्थल खेल स्थलको निरिक्षण गरि आयोजनबारे जानकारी लिएको थियो ।
