
पोखरा स्पोर्टस । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न ‘वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर ब्रोनज प्रतियोगिता’मा नेपालका खेलाडीले लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरेका छन् ।
सम्पन्न प्रतिस्पर्धामा महिला तर्फ सीमाकुमारी चौधरीले ५.८३ मिटर जम्प गर्दै नयाँ कीर्तिमान बनाइन् ।
यसअघि महिलातर्फको रेकर्ड निशा चौधरीको नाममा ५.६२ मिटर थियो ।
पुरुषतर्फ सलिम देवानले ७.३२ मिटर जम्प गर्दै आफ्नो नै पुरानो ७.१२ मिटरको रेकर्ड तोडेका छन् ।
१९ राष्ट्रका २०० भन्दा बढी खेलाडीको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालबाट १२ खेलाडीले विभिन्न खेलमा सहभागिता जनाएका छन् ।
प्रतियोगिताको नेपाली टोलीमा पुरुषतर्फ आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गरिरहेका छन्
त्यस्तै, महिलातर्फ नारायणी भण्डारी, कलेसी चौधरी, सिमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपाने, टिम अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्र कुमार चौधरी रहेका छन् ।
