
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघको आयोजनामा हुने ‘प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । यहि पौष ६ गते देखि १० गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले एक पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको हो ।
प्रतियोगितामा प्रदेशका ११ जिल्लाले सहभागिता जनाउने अध्यक्ष नविन कुमार गुरुङले जानकारी दिएका छन् । प्रतियोगितामा कास्की, स्याङजा, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतको सहभागिता रहने गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष गुरुङले बताए ।
प्रतियोगितामा उपाधि विजेताले नगद २ लाख, उपविजेताले नगद १ लाख, तृतियले ५० हजार तथा चौथो हुनेले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्ने छन् । यसै गरी प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना खेलाडीले नगद २० हजारका साथमा ट्रफी र मेडल प्रदान गरिनेछ ।
त्यसै गरी उत्कृष्ट विभिन्न पाँच विद्या उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचलाई जनही नगद १०–१० हजार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
नेपाल भलिबल संघ र कास्की जिल्ला भलिबल संघको व्यवस्थापन, प्रदेश खेलकुद परिषद गण्डकीको समन्वय र राष्ट्रिय खेलकुद परिषदको समन्वयमा हुने उक्त प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडीको उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने महासचिव तहल सिंह थापा मगरले बताए ।
यसै गरी आगामी पुष २४ गतेबाट सुरु हुने एनभिए कप राष्ट्रिय भलिबल प्रतियोगिता र माघ ८ गतेबाट सञ्चालन हुने टाइगर कप भलिबल प्रतियोगिताका लागि समेत खेलाडी छनौट गरिने आयोजकले जनाएको छ ।
कुल ३१ लाख १० हजार खर्च हुने उक्त प्रतियोगिताका लागि आयोजकले जिल्ला भलिबल संघलाई तयारी खर्च स्वरुप नगद ५० हजार प्रदान गर्ने महासचिव मगरले जनकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङले समेत प्रतियोगिताको विविध पक्षबारे जानकारी दिएका थिए । दर्शकहरुको मनोरञ्जनका लागि आयोजकले प्रतियोगिता संगै विभिन्न सांगेतिक तथा सांस्कृतिक कार्यक्रमहरु समेत पस्किने जनाएको छ ।