दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोटमा नविताको जित

पोखरा स्पोर्टस । राष्ट्रिय च्याम्पियन नेपालकी नविता श्रेष्ठले विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगितामा बिहीबार जित हात पारेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्सको समूह ‘एच’ मा नविताले श्रीलंकाकी तमाद काभिन्द्या अलागीयावाडुलाई ११–३, ११–९ र १२–१० को सोझो सेटमा पराजित गरिन् । सोही समूहको अर्को खेलमा भने तमादले बंगलादेशकी कोइ कोइ साइ मामालाई सीधा सेटमा ११–५, १३–११ र ११–९ ले हराइन् ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला सिंगल्सको समूह ‘इ’ मा पाकिस्तानकी हुर फवादले नेपालकी सिक्का सुवाल श्रेष्ठलाई ३–० तथा भारतकी दिया पराग चितालेले सिक्कालाई ३–० कै सोझो सेटमा हराए । समूह ‘जि’ मा नेपालकी एलिना महर्जन श्रीलंकाकी मनीषा र माल्दिभ्सकी फथिमाथसंग समान ३–० को नतिजामा पराजित भइन् । समूह ‘डि’ मा नेपालकी रविना महर्जन श्रीलंकाकी कासुनीसंग ३–१ तथा भारतकी अर्चनासंग ३–० ले चुकिन् । समूह ‘सी’ मा भारतकी रिथले नेपालकी इभाना थापालाई ३–० ले पाखा लगाइन् ।

पुरुष सिंगल्सको समूह ‘ए’ मा भारतका सनिलले नेपालका शिव सुन्दर गोथेलाई ३–०, समूह ‘डि’ मा नेपालका संयोग कपालीले बंगलादेशका नफिज इक्बाललाई ३–०, समूह ‘इ’ मा पाकिस्तानका फैजान जाहुरले नेपालका प्रदीप रोकालाई ३–२ र समूह ‘एफ’ मा नेपालका विनेश खनियाँले बंगलादेशका फहाद ख्वाजालाई ३–२ ले हराए ।

प्रतियोगिताको पुरुषमा १८ तथा महिलामा २४ खेलाडी सहभागी छन् । नेपालबाट ५–५ पुरुष/महिला, भारतबाट २ पुरुष/५ महिला, पाकिस्तानबाट ४ पुरुष/३ महिला, बंगलादेशबाट ४ पुरुष/५ महिला, श्रीलंकाबाट २ पुरुष/५ महिला तथा माल्दिभ्सबाट १–१ पुरुष महिला सहभागी छन् । भुटान सहभागी भएन । समान १६–१६ पुरुष/महिला खेलाडी अर्को चरणलाई छनोट हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close