
पोखरा स्पोर्टस । रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) पोखराले आयोजना गर्ने ‘२४ औं सडक महोत्सव–२०७९’मा टेनिस देखि परम्परागत डुङ्गा दौडलगायतका विभिन्न खेलकुद कार्यक्रमहरु हुने भएका छन् ।

रेवान पोखराले बिहिबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी अग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने महोत्सव अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु समेत आयोजना गर्न लागिएको जनाएको हो । उक्त सडक महोत्सव यहि पुष १३ गते देखि १७ गते सम्म आयोजना हुनेछ ।
सो अवसरमा रेवान पोखराका अध्यक्ष नरेश भट्टराई पोखराको पर्यटन प्रवर्द्धनमा महोत्सवले भूमिका खेलेको बताउँदै भूकम्प र कोरोनाले थलिएको पर्यटनलाई माथी उठाउन सबैको सहयोग आवश्यक रहेको बताए । उनले भने–“यो रेवान पोखराको मात्रै कार्यक्रम होइन । यो सबै पोखरेलीहरुको साझा कार्यक्रम हो । यसलाई सफल बनाउन हामी सबैलाई आह्वान गर्छौंं ।” उनले विकासको मुख्य आधार पर्यटन क्षेत्र रहेको बताउँदै मुलुकको समग्र आर्थिक विकासमा समेत यसको भूमिका उल्लेखनिय रहेको बताए । उनले अन्तरिक र वाह्य पर्यटकहरुको बसाईलाई लम्व्याउन पनि महोत्सवले स्थायित्व प्राप्त गरेको उनको भनाई थियो ।
“सडकमै खाउँ सडकमै रमाउँ” भन्ने मुल नाराका साथ पाँच दिन सम्म चल्ने सडक महोत्सव अन्तर्गत डुङ्गा दौड, खुल्ला भेट्रान्स टेनिस, वेटर रेस, टग अफ वार (डोरी तान) प्रतियोगितालगायत झाँकी प्रदर्शनी, अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता र रात्री कालिन कन्सर्टहरु मुख्य आकर्षणका रुपमा रहनेछन् । पोखराको तिन किलो मिटर क्षेत्र फिसटेल गेट देखि खहरे चोक हुँदै जरेवर लेकसाइड सम्म कार्यक्रमहरु आयोजना हुने गरी तय भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
करिव ८५ लाख आम्दानी र ७० देखि ७५ लाख अनुमानित खर्च रहेको महोत्सवमा ४ लाख पर्यटकहरु पोखरा आउने अध्यक्ष भट्टराईको दावी छ ।
महोत्सव सफल बनाउन अध्यक्ष भट्टराईको संयोजकत्वमा दुई सह संयोजक सहित २४ सदस्यिय आयोजक समिति गठन गरिएको छ । दुई सह–संयोजकमा योगेश भट्टराई र वैभव पौडेल रहेका छन् ।
सम्पन्न पत्रकार सम्मेलनमा पोखरा होटल संघ (हान)का अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी, रेवानका प्रथम उपाध्यक्ष विश्वराज पौडेल र सचिव विकास भट्टराईलगायतले सडक महोत्सवको विविध पक्ष बारे जानकारी गराएका थिए ।
