पोखरा स्पोर्टस । १२ औं संस्करणको बगर भाई खलक एट–ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आगामी माघ ३ गते देखि ८ गते सम्म सञ्चालन हुने भएको छ । पोखराको ऐतिहासिक टुँडीखेल मैदानमा हुने प्रतियोगितामा २५ देखि ३० टिमको सहभागिता हुन सक्ने बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका हुन् ।
४० देखि ६५ वर्ष सम्मको उमेर समुहका खेलाडीहरुले सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताको मुख्य प्रायोजन चौधरी ग्रुपको उत्पादन हिमालयन ब्रुअरीले गर्ने भएको छ । ‘स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकका लागि नौलो आयाम’ भन्ने उद्धेश्यका साथ आयोजना हुँदै आएको एट ए साइड फुटबल प्रतियोगितामा विभिन्न क्लवहरुबाट पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिताले पनि थप आकर्षण बढ्दै गएको अध्यक्ष गुरुङले बताए । उनले भने–“यो प्रतियोगिताका लागि प्रतियोगिता मात्रै होइन पूर्व खेलाडीहरुमा रहेको प्रतिभालाई यूवा पिढींका खेलाडीमा हस्तान्तरण गर्नु पनि हो ।”
सातौं सस्करण देखि पूर्व राष्ट्रिय खेलाडी स्व.रञ्जित गुरुङका परिवारले मुख्य प्रायोजन गर्दै आएको उक्त प्रतियोगितामा आगामी पाँच वर्षका लागि राष्ट्रिय उद्योगको रुपमा स्थापित हिमालयन ब्रुअरी जोडिएकोले पनि यसको गरिमा अझै बढ्दै गएको बताउँदै अध्यक्ष गुरुङले यो प्रतियोगिताले समाजको हरेक अङ्गमा छुट्टै सञ्चार प्रवाहित गर्न सफल रहेको दावी गरे । “यो प्रतियोगिताका लागि मात्रै आयोजना गरिएको होइन यसका छुट्टै आयामहरु छन् । स्वदेश देखि विदेश सम्म समेत यसको आकर्षण बढ्दै गएको छ ।” प्रतियोगितामा सह आयोजकको रुपमा बगर भाई खलक युके समेत रहँदै आएको छ ।
बगर भाई खलक एट–ए साइडको ११ औं संस्करणको डिफेन्डिङ च्याम्पियन ललितपुरको टि वर्गर रहेको थियो । संस्थाले हरेक वर्ष एकजना पूर्व राष्ट्रिय खेलाडीलाई सम्मान समेत गर्दै आएको छ ।
फायल तस्विर
