
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष बास्केटबल प्रतियोगिता बिहिबारबाट पोखरामा सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक छनोट समेत रहेको प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ कास्की बिजयी भएको छ । कास्कीले लमजुङलाई ५०–४४ को स्कोरले पराजित गरेको हो ।


यसै गरी पुरुषतर्फ प्रतियोगिताको पहिलो दिन कुल चार खेल सम्पन्न भएको गण्डकी बास्केटबल संघका महासचिव विष्णु गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए । पहिलो दिन स्याङजाले तनहुँलाई ३७–३३ ले पराजित गर्दा पर्वतले बागलुङलाई १० का विरुद्ध १०१ स्कोरले म्याग्दीले नवलपुरलाई १४ का विरुद्ध १०९ स्कोरको भारी अन्तरले पराजित गरेका छन् ।
यता महिलातर्फ भने क्वाटरफाइनल समिकरण पुरा भएको छ । शुक्रबार महिलातर्फ सेमीफाइनल र फाइनलका खेलहरु सञ्चालन हुने महासचिव गुरुङले जानकारी दिए । महिलातर्फ ६ जिल्ला सहभागि भएको मध्ये म्याग्दी, स्याङजा, पर्वत र लमजुङले सेमीफाइनलको यात्रा तय गरे । बिहिबारको खेलमा म्याग्दीले कास्कीलाई ३८–२२ ले, स्याङजाले तनहुँलाई ५५–२४ ले, म्याग्दीले लमजुङलाई ३६–३० ले, पर्वतले तनहँलाई ४१–२६ ले, लमजुङले कास्कीलाई २१–१८ ले, स्याङजाले पर्वतलाई ४५–४० को स्कोरले पराजित गरेको छ ।
महिलातर्फ शुक्रबार पहिलो सेमीफाइनल खेल स्याङजा र लमजुङका बीच हुनेछ भने दोस्रो सेमीफाइनलमा लमजुङले पर्वतको सामना गर्नेभएको छ ।
यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातयात व्यवस्था मन्त्री राजिव गुरुङले एक कार्यक्रमका बीच गरेका थिए ।
गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिकाका वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा, संघका उपाध्यक्ष किरण सापकोटाले आफ्ना भनाई राखेका थिए ।
शनिबार सम्पन्न हुने प्रतियोगितामा उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ६०/६० हजार उपविजेताले समान नगद रु ४०/४० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी १४ टिमको सहभागिता रहेको छ ।
