छानविन समितीको निर्देशनः प्रशिक्षक अलमुताइरीको आचरणमा सुधार गर

पोखरा स्पोर्टस । एन्फाको छनाविन गर्न गठित समितीले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अव्दुल्हा अलमुताइरीको आचरणमा सुधार गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठित समितीले करिव १५ दिन लगाएर गरेको छानविनमा प्रमुख प्रशिक्षक अलमुताइरीको आचरणमा प्रश्न उठाउँदै विभिन्न वुँदाहरुमा नेपाली फुटबलको छाता संंस्था अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन गरेको हो ।

छानविन समितीले राखेप सदस्य सचिब रमेश कुमार सिलवाललाई वुझाएको प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले आफ्नो फेसबुकमा विवादित आफ्नो राजिनामाको पोष्टलाई तुरुन्तै हटाउन समेत निर्देशन दिएको छ । निर्देशनको चौथो वुँदामा प्रशिक्षकलाई दिएको जिम्मेवारीको कार्यसम्पादन गर्न तथा विवाद सिर्जना हुने खालका कुनै पनि कुराहरु गर्न नगराउन एन्फालाई सुझाव दिंदै भनेको छ–“सामाजिक सञ्जालमा र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैसंग लक्षित गरी आफ्ना धारणा सम्प्रेषण नर्गन परिषदले सचेत गराउनु पर्ने देखिन्छ ।”

कुनै पनि संचारकर्मीले प्रशिक्षक संग अन्तरवार्ता गर्नु परेमा सूचना अधिकारी वा व्यवस्थापक संग पूर्व अनुमती लिन निर्देशन दिंदै टिम व्यवस्थापकले प्रशिक्षकको गुनासा तथा समस्याहरुलाई तत्काल हल गर्न सम्वन्धित निकायमा पुर्याउनु पर्ने तथा प्रशिक्षकको शुरक्षाको प्रत्याभुती गर्न एन्फालाई निदेशन गरेको छ । समितीको प्रतिवेदनमा एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल र प्रशिक्षकले पदिय मर्यादा लाई ध्यानमा राख्न प्रतिवेदनमा सुझाव दिइएको छ ।

एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र अलमुताइरीबीच विवाद बढेपछि राखेपले गत साउन १९ गते पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । करिव तिन साता लगाएर तयार गरेको प्रतिवेदनमा एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्दै आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्ने सुझाव सहितको निर्देशन दिएको छ ।

प्रमुख प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न समस्या भएको भन्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए । नेम्वाङले त्यसको कडा प्रतिवाद गर्दै छनाविन गर्न आग्रह गरेका थिए । तर एन्फाले उक्त विवाद छानविनका लागि यूवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरेको थियो । तर मन्त्रालयले छानविन गर्न राखेपलाई निर्देशन दिएको थियो ।

प्रतिवेदनमा प्रशिक्षकको प्रशिक्षण कार्यका बारेमा सबै पक्षबाट सकारात्मक समर्थन पाएकाले उनको कार्य दक्षता, क्षमता एवं भूमिकाका बारेमा प्रश्न गर्न ठाउँ नरहेको जनाउँदै एन्फालाई १५ दिन भित्र ‘कोड अफ कन्डक्ट’ तयार गरी राखेपबाट स्विकृत लिन आग्रह गरिएको छ ।

लाखेको संयोजकत्वमा सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बि.क., कानुन शाखाका प्रमुख नारायण राज अर्याल र सचिवमा संघ संस्था सवन्वय शाखाका प्रमुख सरोज पोखरेल गरि ७ सदस्य “बिवाद समाधान छानविन समिती” गठन गरेको थियो । परिषद्का निमित्त सदस्य सचिव एकेन्द्र कुँवरले उक्त समितिलाई सत्य तथ्य सहित ७ दिन भित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close