
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल र फुटबलबाट १४ लाख ६१ हजार ६ सय रुपैयाँ आम्दानी भएको छ ।
राष्ट्रिय खेलकुदकै इतिहासमा पहिलो पटक खेल हेर्न गरिएको टिकट व्यवस्थाबाट उक्त रकम आम्दानी भएको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा गत असोज २८ गते देखि कार्तिक ३ गते सम्म सम्पन्न भएको पुरुष भलिबलतर्फ १२ लाख ५८ हजार आम्दानी भएको नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए । राखेपले उक्त आम्दानी मध्ये ६० प्रतिशत आफैले राख्ने र ४० प्रतिशत संघलाई दिने सहमति भएको उपाध्यक्ष गुरुङले बताए ।
नेपाल भलिबल संघले टिकटबाट आम्दानी भएको मध्ये ५ लाख ३ हजार २ सय राखेपबाट प्राप्त गर्ने छ ।
यता फुटबलतर्फ भने २ लाख ३ हजार ६ सय रुपैयाँ आम्दानी भएको कास्की जिल्ला फुटबल संघका कोषाध्यक्ष हितमान गुरुङले जानकारी दिए । उक्त रकम मध्येको ४० प्रतिशत भने एन्फा केन्द्रमार्फत कास्की फुटबल संघले सहमति भएको कोषाध्यक्ष गुरुङले बताए । उक्त रकम मध्ये ८१ हजार ४ सय ४० रुपैयाँ प्राप्त गर्ने जिल्ला फुटबल संघ कास्कीले प्राप्त गर्नेछ । नवौं राष्ट्रिय अन्तर्गत पोखरा १९ गोष्तेघाट र पोखरा रंगशालामा पुरुष फुटबल आयोजना गरिएको थियो । आयोजकले पोखरा रंगशालामा मात्रै टिकटको व्यवस्था गरेको थियो । केही लिग खेलहरु गोष्तेघाटमा सम्पन्न भएका थिए ।
नवौं राष्ट्रिय खेलकुदमा सम्पन्न ३६ खेल मध्ये दुई खेलमा राखेपले टिकटको व्यवस्था गरेको थियो । राखेपले खेलकुदको व्यवसायीकरण आवश्यक रहेको भन्दै गरेको व्यवस्थामा केहीले भने विरोध जनाएका थिए । राखेपले नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न ६० करोड बजेट विनियोजित गरेको थियो ।
