
पोखरा स्पोर्टस/तस्विरः योगेन्द्र श्रेष्ठ । पाहुना टोली एमसीसी पोखरामा शनिबार भएको ४०/४० ओभरको एक दिवशिय क्रिकेट खेलमा पराजित भएको छ ।

नेपाली महिला राष्ट्रिय टोली क्यान ११ ले एमसीसी विरुद्ध शनिबार पोखरा रंगशालामा सम्पन्न खेलमा २ विकेटले जित निकालेको हो । टस जितेर व्याटिङ रोजेको एमसीसीले पुरै ४० ओभर खेल्दै ९ विकेटको क्षतीमा ११३ रन मात्रै बनाउन सक्यो । एमसीसीका लागि क्लेरी टेलरले २०, जेनी किटजिङरले २१, अवि ह्वाइग्रोभले १०, एलिसा हुवार्ड १३, मिया रोजर्स ४, अमन्दा पोटगिजर १६, रेचल पोटरले ९, जो फोष्टर र मेरिलिन स्मिथले समान ३/३ र इशावेली गुर्नेले १ रन बनाएकी थिइन ।
नेपालका लागि रुविना क्षेत्री र सिता राना मगरले समान ३/३ विकेट हात पार्दा निरु थापा र इन्दु बर्माले समान १/१ विकेट लिएका थिए ।
यता नेपालको ओपनिङ पारी भने खेलमा जम्न सकेन । नेपालले ३४.४ ओभरमा ८ विकेटको क्षतीमा ११८ रन बनाएर जित निकाले पनि २४ रन एक्स्ट्राको रुपमा नेपालले पाएको थियो । नेपालका ओपनरहरु काजल श्रेष्ठ, सिता राना मगर र तेश्रो क्रममा मैदान छिरेकी इन्दु वर्मा खाता समेत खोल्न नसकी पेभिलिएन फर्किएका थिए । चौथो विकेटका लागि मैदान आएकी सुमन खतिवडाले व्यक्तिगत ८ रनमा पेभिलिएन फर्किएपछि उनी संगै सातौं स्थानमा मैदान उत्रिएकी सम्झना खड्का वोल्ड हुँदै १ रन जोडर मैदान छोडेकी थिइन् ।
त्यस्तै रुविना क्षेत्रीले १३ र कविता जोशीले १ रन जोडिन् । १६.२ ओभरमा ३६ रनमा ६ विकेटको नोक्सानी व्यहोरेको नेपालको पालीलाई नेरी थापा र कविता कुंवरको जोडीले सम्हालेको थियो । नेरीले ४८ बलमा ४ चौकाको मद्धतले नट आउट रहँदै ३३ रन बनाएकी थिइन् भने कविताले १६ रनको योगदान दिइन् । यसै गरी अस्मिना कमाचार्यले नट आउट रहँदै १८ रन बनाउन सफल भइन् ।
एमसीसीका लागि रिया रावल र रिचेल पोटरले समान २/२ विकेट हात पार्दा सावा नासिम, अवी ह्वाइग्रोभ, अमन्दा पोटगिजर र इशावेली गुर्नीले समान १/१ विकेट लिएका थिए ।
खेलमा नेपालकी नेरी थापा म्यान अफ दि म्याच घोषित भइन् ।


