
पोखरा स्पोर्टस । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली शनिबार काठमाण्डौ प्रस्थान गर्ने भएको छ ।
यहि कार्तिक १३ गते देखि २६ गते सम्म काठमाण्डौमा सञ्चालन हुने छैंटौं संस्करणको प्रधानमन्त्री कप खेल्न विपिन खत्रीको कप्तानीमा टिम काठमाण्डौ प्रस्थान गर्न लागेको हो । गण्डकीको टिममा चन्द्रकान्त पौडेल, समीर कंडेल, विधान श्रेष्ठ, शचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पंगेनी, सन्देश बस्नेत, अभिषेक बस्नेत, सुवास भण्डारी, कृष्ण पौडेल र कमल परियार रहेका छन् ।
त्यसै गरी बैकल्पिक खेलाडीहरुमा दीनेश बुढा मगर, प्रदीप अर्याल, सौजन्य रेग्मी र सन्दीप पराजुली रहेको गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ । टिमको प्रशिक्षकमा रिजन प्रजु र टिम म्यानेजरमा चन्द्र कुमार गुरुङ (जिम्मी) रहेको संघले जनाएको छ ।
युवा खेलाडी अर्जुन कुमाल र टिमका लागि अनुभवी मानिएका विधान श्रेष्ठले गण्डकीको टिमलाई मजवुती प्रदान गरेको टिम म्यानेजर जिम्मीले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“हामी संग अनुभवी टिम छ । कुनै पनि खेलको नतिजामा उलटफेर पार्न सक्ने क्षमता राख्छन् । तर संयमता खाँचो छ । मैले खेलाडीलाई यहि कुरा भनेको छु ।” पाँचौ पटक सम्मको संस्करणमा गण्डकी एक पटक मात्र सेमीफाइनलको यात्रा तय गरेको उनले बताए । “छैटौं संस्करण हुँदै छ । हामी आशावादी छौं । तयारी पनि राम्रो छ । गण्डकीले राम्रो खेल पदर्शन गर्नेछ । हामीलाई सबैको शुभेच्छाको लागि आग्रह गर्दछु,”उनले भने ।
प्रतियोगितामा गण्डकी रहेको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, कर्णाली र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश १ र मधेश प्रदेश छन् ।
गण्डकीले पहिलो खेल कार्तिक १४ मा टियु मैदानमा सुदूरपश्चिमसँग खेल्ने छ भने १६ गते सोही मैदानमा कर्णालीसँग, कार्तिक १८ गते मुलपानीमा पुलिस र कार्तिक २० गते मुलपानीमा नै आर्मीसँग खेल्नेछ ।

