
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ फाइनलमा पुगेका छन् ।
पोखरा रंगशालामा भलिबल कोर्टमा बुधबार साविक विजेता पुलिसलाई हराउँदै विभागीय डर्बीमा आर्मीले बाजी मारेको हो । त्यस्तै एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई हरायो ।
सेमिफाइनलमा आर्मीले ३–१ को सेटमा पुलिसलाई पराजित गरेको हो । आर्मीले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट भने २१–२५ ले पुलिसलाई सुम्पियो । तेस्रो र चौंथो सेट क्रमशः २५–२३ र २५–१९ ले जित हात पार्दै आर्मीले उपाधि दाबेदारको यात्रा तय गरेको हो ।
घरेलु मैदानमा खचाखच दर्शकको साथ पाउँदापाउँदै गण्डकी फाइनलबाट बञ्चित हुन पुग्यो । विभागीय टिम एपीएफसँग गण्डकीले तीनवटै सेट गुमायो । एपीएफले २५–२१ ले पहिलो सेट आफ्नो पक्षमा पार्दा दोस्रो सेट समेत गण्डकीका लागि कठिनपूर्ण बन्यो । प्रतिस्पर्धात्मक दोस्रो सेट २७–२५ ले गण्डकीलाई पराजित गर्यो । तेस्रो सेटमा गण्डकीको खेल खस्किँदा एपीएफले २५–१२ मै समेट्यो ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन बिहीबार पुरुष भलिबलको फाइनलमा विभागीय डर्बीमा प्रतिस्पर्धा हुने छ ।
