
पोखरा स्पोर्टस । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत विधामा पुरुष एकलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र एनआरएनका आरभ सम्राट हाडा फाइनल पुगेका छन् ।
नेपालको नं १ बरियताका टेनिस खेलाडी खड्काले आज एपिएफका सन्तोष खत्रीलाई ६–१, ६–१ के सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
त्यसैगरी एनआरएनका हाडाले सेनाका प्रनभ खनालमाथि ६–३, ६–० सोझो सेटको जित निकालेका छन् । सेनाका खनाल नेपालको दोस्रो बरियताका खेलाडी हुन् ।
यसैगरी महिला एकलतर्फ नेपालको पहिलो बरियता खेलाडी अभिलाशा विष्टले ६–०, ६–१ को सोझो सेटमा बागमतीका रायना शाहलाई पराजित गरी फाइनलको यात्रा तय गरिन् । यसैगरी सेनाका इरा रावतले बागमतीका प्रकृति श्रेष्ठलाई ६–२, ७–५ को सोझो सेटमा पराजित गरी फाइनलमा अविलाशासँगको भेट पक्का गरिन् ।
पुरुषडबल्सतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल शाहीको जोडीले बागमतीका निशान श्रेष्ठ र प्रितम परियारको जोडीलाई ४–६, ,६–० र १०–५ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाए ।
दोस्रो खेलमा सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीले गण्डकीका आशिष खड्का र सौगात विकको जोडीलाई ७–२, ,२–६ र १०–७ को सेटमा पराजित गरे ।
मिक्सडबल्सतर्फ सेनाका प्रनभ र अभिलाशाको जोडी फाइनल पुगेको छ । उनीहरुले गण्डकीका अनिल र प्रिति बरालको जोडीमाथि ६–०, ६–१ के सोझो सेटको जित निकालेको कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए । महिला डबल्स र मिक्स डबल्सका सेमिफाइनलका केही खेल सोमबारनै सम्पन्न भएका थिए ।
बुधबार पुरुषडबल्सको स्वर्णका लागि गण्डकीका प्रदीप र अनिल तथा सेनाका प्रनभ र अकीको जोडीका बीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी मिक्स डबल्स र महिलाडबल्सको फाइनल भोली हुने आयोजकले जनाएको छ ।
