
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको निधनमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एक प्रेश विज्ञप्ती जारी गर्दै स्तव्ध भएको जनाएको छ ।
यूवा तथा खेलकुद मन्त्री एवं राखेपका अध्यक्ष महेश्वरजंग गहतराज (अथक) र सदस्य–सचिव टंकलाल घिसिङले एक संयूक्त प्रेस विज्ञप्ती जारी गरी दुःख व्यक्त गरेका हुन् । प्याराग्लाइडिङ खेलमा नेपाल आर्मीबाट सहभागि २६ वर्षिय निसम पोखराको सराङकोटबाट उडान लगतै दुर्घटनामा परेका थिए ।
राखेपद्वारा जारी विज्ञप्तीमा भनिएको छ–“नवौं राष्ट्रिय खेलकुद– २०७९ अन्तर्गत राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितामा आज २०७९ साल असोज ३० गते प्रतिस्पर्धा गर्ने क्रममा नेपाली सेनाका खेलाडी निसिम थापाको दुखद निधनको खबरले राष्ट्रिय खेलकुद परिषद् मर्माहत र स्तब्ध भएको छ ।”
राखेपले विज्ञप्तीमा दिवंगत आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप सक्दो सहयोग गर्ने राष्ट्रिय खेलकुद परिषद्ले प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
अहिले निसिमको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको र उनलाई सोमबार अन्तिम संस्कार गरिने नेफाले जनाएको छ ।
यसै विच नेपालको राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको निधनले अर्को सूचना जारी नभए सम्मका लागि प्याराग्लाइडिङ खेल स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)ले जनाएको छ । यता उनको निधन संगै नेपाल नागरिक उड्ययन प्राधिकरणले समेत देशभरीका प्याराग्लाइडिङ उडानहरु समेत रोक लगाएको छ ।


