पोखरा म्याराथनको तयारी पूरा, पोखराको पर्यटनमा कोशे ढुङ्गा

म्याराथनमा १ सय ५७ जना र महिला तर्फको २१ किलो मिटरको हाफ म्याराथनमा २१ जनाको नाम दर्ता

पोखरा स्पोर्टस । फागुन १ गते शनिबार पोखरामा हुने १५ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको  संस्था भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार आयोजना हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको मञ्चले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

म्याराथनमा यस बर्ष १ सय ५७ जना धावकहरु सहभागि हुने भएका छन् भने महिला तर्फको हाप म्याराथनमा विहिबार सम्म २१ जना धावकहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए । यस बर्ष भने कोरोनाको कारणले गर्दा विदेशबाट धावकहरु उक्त प्रतियोगितामा सहभागिता जनाउने सम्भावना नभएको मञ्चले जनाएको छ । कोरोनाले प्रभावित भएको खेल क्षेत्रलाई प्रर्वद्धन गर्न र सफल पोखरा म्याराथनलाई निरन्तरता दिन पनि यस बर्ष उक्त प्रतियोगितामा सके सम्मको आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने भएको अध्यक्ष गुरुङले बताए ।

४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, सान्त्वना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाण—पत्र प्राप्त गर्ने भएको अध्यक्ष गुरुङले बताए । नेपाल पर्यटन वोर्डको प्रर्वद्धनमा संचालन हुने उक्त प्रतियोगिताले पोखराको खेलपर्यटनलाई समेत प्रर्वद्धन गर्ने भएको अध्यक्ष गुरुङले जनाए ।

उक्त प्रतियोगिता सफल पार्न करिब ३ सय सुरक्षाकर्मी एक सय ५० स्वयमसेवक परिचालन गरिने तथा करिब ३ देखि ४ किलोमिटर दुरीमा एम्बुलेन्स सेवा तयारी अबस्थामा राखिने भएको अध्यक्ष गुरुङले जनाए । उक्त दौड प्रतियोगिता शनिबार विहान ७ः०० बजे पोखरा रंगशालाबाट सुरु भई छोरेपाटन, लेकसाइड, भिमकालिपाटन, इन्जिनीयरिङ कलेज मध्यमपथ हुदै बगर, नारायणथान पुल हुदै सितलादेवि, मियापाटन, चाउथे, भोटेचौचारा मझेरीपाटन रामबजार हुदै रंगशालासम्मको रुट तय गरिएको छ ।

महिला धावकहरुलाई समेत प्रोत्साहन हुने गरी यस बर्ष देखि हुन लागेको २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगितामा विहिबारसम्म १९ जना प्रतियोगिहरुले सहभागिता जनाउने गरी नाम दर्ता गरेको मञ्चले जनाएको छ । महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने भएको भएको मञ्चका प्रमुख कार्यकारी अधिकृत केशव पाठकले बताए ।

उक्त प्रतियोगितामा धावकले पोखरा रंगशालाबाट दौड सुरु गरी पृथ्बीचोक, छोरेपाटन, पार्दी, लेकसाइड, न्यूरोड, गैरापाटन, पालिखेचोक, नारायणथान मन्दिरचोक, नेपाल टेलिकम हुदै गिता मन्दिर हस्पिटलचोक, बुद्धचोक रंगशालासम्मको यात्रा पुरा गर्नुपर्ने हुन्छ ।

कोभिड—१९ ले गर्दा अन्य विभिन्न इभेन्टका दौड प्रतियोगितालाई विभिन्न चार चरणमा हुने मिति तय गरिएको छ । त्यसै १० किलोमिटर महिला तथा पुरुष तर्फको दौड प्रतियोगिता चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुष तर्फको ह्विल चियर दौड प्रतियोगिता र आउँदो वैशाख ४ गते मञ्चको बार्षिकोत्सको अवसरमा ५ किलोमिटर बिद्यालय स्तरिय छात्र–छात्रा दौड प्रतियोगिता र रन फन फन समेत हुने भएको मञ्चका पूर्व अध्यक्ष खड्ग बहादुर रानाभाटले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख ६० हजार खर्च लाग्ने भएको मञ्चका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक लक्ष्मी हाउसको उत्पादन सफल दुधले यस बर्ष ४ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको उनले जनाए । त्यसै गरी प्रतियोगितालाई सफल पार्न तीनै तहका सरकारले सहयोग गरेको गुरुङले जनाए । उनका अनुसार संघिय सरकार अन्र्तगत युवा तथा खेलकुद मन्त्रालयबाट ५ लाख, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबाट उक्त प्रतियोगिताको लागि १०–१० लाख रुपैया विनियोजन भएको छ ।

२०५८ सालमा स्थापना भएको मञ्चले उक्त प्रतियोगिताबाट बचत भएको केही रकम सामाजिक क्षेत्रमा काम गर्ने योजना बनाएको मञ्चका कृष्ण तिमिल्सिनाले बताए । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले सफल पोखरा म्याराथनले पोखराको खेल पर्यटन प्रर्वद्धनमा मद्धत पुराउँदै आएको बताए ।

पोखरा म्याराथनको मुख्य प्रायोजन सफल दुधले गरिरहेको छ भने अन्तर्राष्ट्रिय पार्टनरका रुपमा पोखरेली मञ्च युके र प्रर्वद्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ ।
तस्विर : सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close