
पोखरा स्पोर्ट्स । खेलकुद विकास र खेलाडी उत्पादनको मुख्य मेरुदण्डको रुपमा रहेको राष्ट्रपति रनिङ शिल्डको तयारी पोखरा महानगर पालिकाले तयारी सुरू गरेको छ । पोखरा महानगर पालिकाले ‘मेयरकप तथा राष्ट्रपति रनिङ शिल्ड’ मंसिर ९ देखि ११ गते सम्म पोखरा रंगशालामा आयोजना गर्ने गरी तयारी सुरू गरेको हो ।
पोखरा महानगर पालिकाले मंगलबार शिक्षा सम्वद्ध विभिन्न छाता संस्थाहरुसँग एक छलफल कार्यक्रम समेत सम्पन्न गरेको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले पोखरा स्पोर्ट्सलाई जानकारी दिए । पोखरा स्पोर्ट्ससँग कुरा गर्दै अध्यक्ष गोदार तयारी सुरू गरिएको र विभिन्न शिक्षा सम्वद्ध संस्थाका अध्यक्षहरुले सहभागिताका लागि समेत उत्साह जगाएको उल्लेख गरे ।
“पोखरा महानगरका प्रमुख धनराज आचार्य ज्यूको प्रमुख आतिथ्यतामा हामीले आज तयारी बारे छलफल गरेका छौं”, उनले भने–“यो पटक १० हजार भन्दा बढिले प्रतियोगितामा सहभागिता जनाउने छन् ।”
राष्ट्रपति रनिङ शिल्डअन्तर्गत विभिन्न ६ खेलहरू सञ्चालन हुदै आएका छन् । जसमा छात्र/छात्रा भलिबल, एथलेटिक्स, उशु, तेक्वान्दो, करातेलगायतका प्रतियोगिता समावेश छन् ।
पोखरा महानगरले आर्थिक वर्ष २०८२/०८३ मा राष्ट्रपति रनिङ शिल्डका लागि ३५ लाख विनियोजन समेत गरेको छ । कास्कीमा रहेका पाँच पालिका मध्ये पोखरा महानगर कास्की जिल्लास्तरिय राष्ट्रपतिमा च्याम्पियन समेत रहँदै आएको छ ।
पोखरा रंगशालाको सभाकक्षमा सम्पन्न छलफल कार्यक्रममा पोखरा महानगर पालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङ, हिसान कास्की, प्याव्सन कास्की, एनप्याब्सन कास्की, विद्यालय खेलकुद महासंघ कास्कीलगायत संस्थाहरुका अध्यक्ष ए प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यता जिल्ला खेलकुद विकास समिति कास्कीले कास्कीका पाँचै स्थानिय तहमा पत्रचार गर्दै कार्तिक मसान्त भित्र १६औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्न पत्रचार गरिसकेको छ ।
