
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु फागुन २६ गते पोखरामा जमघट हुने भएको छ ।
संघिय सरकार यूवा तथा खेलकुद मन्त्रालयले आयोजना गर्ने एक अन्तक्रिया कार्यक्रममा उनीहरु जमघट हुने भएका हुन् । उक्त कार्यक्रममा ३६ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने उक्त कार्यक्रमको समन्वय गरिरहेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगीले पोखरा स्पोर्टसलाई बताए ।
कार्यक्रममा गण्डकी प्रदेशबाट विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीहरुको सहभागिता रहने कार्यालय प्रमुख योगीले बताए । विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण अवरुद्ध बनेको खेलकुदमा उर्जा प्रदान गर्न मन्त्रालयले अन्तक्रिया कार्यक्रम गर्ने भएको उनले प्रष्टाए ।
उक्त कार्यक्रममा सहभागिता जनाउनका साथै खेलाडीहरुको समस्याहरु बुझ्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, मन्त्रालयका सचिव डा.दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुल बहादुर थापा पोखरा आउने कार्यक्रम रहेको क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपालीले जानकारी दिए । पोखरा आउने क्रममा मन्त्री गहतराजले पोखरा रंगशाला लगायत अन्य खेलकुद पूर्वाधारहरुको अवलोकन गर्ने भएका छन् ।
