
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को पोखरा रंगाशालास्थित फुटबल स्टेडियममा एक भव्य समारोहका विच उद्घाटन गरिएको छ ।

असोज २८ देखि कार्तिक ३ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उपराष्ट्रपति नन्द किशोर पुन पासाङले उद्घाटन गरेका हुन् । सो अवसरमा उपराष्ट्रपति पुनले खेलकुद विकासका लागि लगानी गर्न जोड दिएका छन् । उनले भने–“खेलकुद विकासको पहिलो शर्त भने पूर्वाधारको विकास नै हो । यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नु नै हो । तर, पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति देखिरहेको छैन ।”
वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र रहेको र खेलाडीहरुले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको तथ्य अघि सार्दै उपराष्ट्रपति पुनले सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न नसकेको बताए । उनले खेलकुदको विकासमा लगानी आवश्यक रहेको बताउँदै भने–“सरकार, राखेप, खेल सम्बद्ध संघ संस्था, खेलाडी र सरोकारवाला सबैले यो राष्ट्रिय खेलकुदमा हामी संकल्प गरौँ–खेलकुदमा लगानी वृद्धि गर्नेछौँ, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौँ, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्ने छौं, राष्ट्रलाई सर्वोपरीमा राखेर खेल प्रदर्शन गर्ने छौैँ । साझा प्रयासविना यसको विकास कठिन छ ।”
यस्ता वृहद् प्रतियोगिताले खेलाडी उत्पादन र खेलकुदको भौतिक निर्माण हुने हुँदा हरेक दुई–दुई वर्षमा प्रतियोगिता निरन्तर आयोजना गर्नुपर्नेमा उपराष्ट्रपति पुनको जोड थियो ।
यसै गरी उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै यूवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले ४० वर्षको अन्तरालमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदले नेपाली खेलकुदको जगलाई स्थापित बनाउन सहयोग पुग्ने बताए । मन्त्री गहतराजले कार्यक्रममा नवौं राष्ट्रिय खेलकुदको झण्डोत्तलन गर्दै खेलकुद विश्वको उदाउदो अर्थतन्त्र र उद्योगको रुपमा विकास भई रहेको तर्फ सबैको गहिरो ध्यान पुग्नु पर्ने उल्लेख गर्दै खेलकुदको विकास र विस्तारमा सरकारी प्राथमिकता र कार्यक्रमहरु हुनु स्वाभाविक हुने उल्लेख गरे ।
यसै गरी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पर्यटन मन्त्री जिवनराम श्रेष्ठले ओलम्पिक अभियानले यस्ता प्रतियोगिताले सहयोग पु¥याउने बताए । खेलकुदले राष्ट्रिय एकता र सौहर्दता कायम गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताए ।
समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले देशको विषम परिस्थितीमा पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुनुले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने उल्लेख गरे ।
राखेपको आयोजनामा ३९ वर्ष पछि गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद ३६ खेलका लागि ६१५७ खेलाडीहरु विभिन्न ३६ खेलमा प्रतिष्पर्धा गरिरहेको सदस्य सचिव टंकलाल घिसिङले बताए ।
यसै विच लुम्विनीबाट ल्याइएको ओलम्पिक टर्च गण्डकी प्रदेशका ओलम्पियन पोखरा रंगशालामा प्रज्वलन गरेका थिए । यस अघि उक्त टर्च पोखरा नगरपरिक्रमा गराइएको ओलम्पियन दिपक विष्टले बताए । उद्घाटन समारोहमा आतिशवाजी गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम, मार्च पास, विभिन्न जनजाती भेषभुषामा झाँकी प्रदर्शन गरिएको थियो ।
