हिसान स्पोर्टस मिट पोखरामा शुरु, नेपाललाई खेलकूदको पावर हाउस बनाउँछौ–सदस्य सचिब सिलवाल

केशब पाठक/ पोखरा,
राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले नेपाललाई खेलकूदको दक्षिण एशियाली राष्ट्रमा पावर हाउसको रुपमा स्थापित गराउने बताएका छन ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको ‘१३ औं हिसान कास्की स्पोर्टस मिट–२०७६’ लाई सम्वोधन गर्दै राखेप सदस्य सचिब सिलवालले उक्त कुरा बताएका हुन । उनले भने–‘हामी १३ औं सागमा प्राप्त सफलता संगै १४ औं सागको तयारीमा योजनावद्ध रुपमा जुटिसकेका छौं, अबको सागमा हाम्रो लक्ष्य ७५ वटा स्वर्ण पदक हो ।’

हिसानका केन्द्रिय अध्यक्ष समेत रहेका राखेप सदस्य सचिब सिलवालले अब खेलाडीलाई नियमित प्रशिक्षण गर्दै उनीहरुको सम्मान र आत्मसम्मान बढाउने तर्फ परिषदले ध्यान दिने बताए । उनले भने–‘अहिले हामी जुन योजनाका साथ काम गर्ने सोच बनाएका छौं अब खेलकूद मार्फत नेपाल दक्षिण एशियाली राष्ट्रमा मात्रै नभई एशिया हुँदै ओलम्पिकमा समेत नेपाललाई सक्षम रुपमा उभ्याउन सफल हुनेछ ।’

नेपालमा खेलकूद पूर्वाद्धार विकासले पनि अबको खेलकूदले गति लिने बताउँदै सदस्य सचिब सिलवालले खेलकूद सबैका लागि उत्पादनशिल बनाउनेतर्फ पनि जोड दिएको बताए । सागको सफलता कठिन परिस्थितीमा समेत चुस्त व्यवस्थापनकै कारणले सफल भएको बताउँदै उनले अब पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकूदलाई अझै भव्य बनाउने तर्फ परिषद अघि बढेको बताए ।

पोखरालाई गण्डकी प्रदेशकै खेलकूद हवको रुपमा बिकास गर्न परिषदले आफ्नो तयारी थालेको बताउँदै सदस्य सचिब सिलवालले तिन महिना भित्र पोखराको मूहारनै फेर्ने गरि २० हजारको क्षमताको फुटबल स्टेडियम तयार हुने बताए । पोखरा रंगशालाको बास्केटबल कोर्टमा प्यारापिट तथा पोखरा रंगशालामा नवौ राष्ट्रिय खेलकूदका लागि हिटिङ स्विमिङ पूल समेत निर्माण हुने उनले जनकारी दिए ।

यहि माघमा आयोजना हुने राष्ट्रपती कप र उपराष्ट्रपती कप जस्ता खेलकूदका कार्यक्रमहरुलाई समेत नयाँ ढङ्गले अगाडी बढाउने बताए । ग्रासरुट लेभलमा खेलाडी उत्पादनका लागि परिषदले विशेष जोड दिने बताउँदै सदस्य सचिब सिलवालले ति प्रतियोगितामा बिजेता खेलाडीलाई तिन महिने प्रशिक्षण समेत गराइने बताए ।

सदस्य सचिब सम्मानित
सो अबसरमा हिसान कास्कीले १३ औं सागलाई भब्य रुपमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै राखेप सदस्य सचिब सिलवाललाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेको छ । यसै गरि सागको भब्य सफल आयोजनागर्न भूमिका खेलेकोमा राखेप सदस्य राजेश कुमार गुरुङ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङलाई दोसल्ला ओढाएर हिसान कास्कीले सम्मान गरेको छ ।

उद्घाटन कार्यक्रममा हिसानले आयोजना गरेका शैक्षिक कृयाकलाप अन्तरगत सम्पन्न नेपाली अंग्रेजी निवन्ध प्रतियोगिता र वक्तित्वकलामा प्रथम, द्वितिय, तृतिय र सान्तत्वना हुने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उनले शिक्षित र अनुशासित खेलाडी उत्पादनमा हिसानले विशेष जोड दिएको बताए । कार्यक्रममा हिसानका उपाध्यक्ष याम बहादुर रोक्का, सचिब दिवाकार जैशी लगाएतले प्रतियोगिताका बारेमा बोलेका थिए ।

बुधबार देखि शुरु भएको हिसान स्पोर्टस मिटमा छात्रा भलिबल, छात्र–छात्रा टेबुल टेनिस र छात्र तर्फ बास्केटबल प्रतियोगिता शुरु भएको स्पोर्टस मिटका संयोजक बाबुराम पन्तले जानकारी दिएका छन ।

छात्रा भलिबल तर्फ ११ वटा खेल सम्पन्न भएको भलिबल खेलका संयोजक पूरन कुवंरले जानकारी दिएका छन । सम्पन्न खेलमा टप्स माबी, सृजना मावि, कास्की मोर्डनाइज्ड, केफ, पोखरा उच्च माबि, लिटिल स्टेप, मदरल्याण्ड, न्यू ग्यालेक्सी बिजयी भएका छन । छात्रातर्फको भलिबल सेमीफाइनल खेल शुक्रबार हुनेछ भने छात्रतर्फका खेल बिहिबार शुरु हुनेछन ।

यता बास्केटबलतर्फ पोखरा रंगशालामा सम्पन्न खेलमा न्यू ग्यालेक्सी, जेसिए, केफ, सोसल पब्लिक, मदरल्याण्ड, प्रतिभा बिजयी भएका छन भने अम्बर सिंंह स्कूलको कोर्टमा सम्पन्न खेलमा पोखरा सेकेण्डरी, लिटिल स्टेप, बाल कल्याण, ग्लोबल, नेपाल आर्दश र कास्की मोर्डनाइज्ड बिजयी भएको संयोजक पुष्पराज पराजुलीले जानकारी दिए ।

२०६४ साल देखि हरेक वर्ष कास्कीमा सञ्चालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ मा माबीतह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल माबी तह छात्रतर्फ ३३ टिम, छात्रा तर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ ६ टिमको सहभागिता रहेको छ । त्यसै गरि छात्र टेनिस माबी सिंगल्समा ७२ जना, छात्रा सिंगल्समा ३८ जना, छात्र डवल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको सहभागिता रहेको छ ।

हिसान कास्कीमा आवद्ध ६८ विद्यालयमा ५३ विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएकाछन । पुस १२ गते सम्म संचालनहुने स्पोर्टस मिट सम्पन्न गर्न करिब ७ लाख खर्च लाग्ने हिसानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close