
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित अनुशन्धान उपसमितिको संयोजकमा हरिप्रसाद पराजुलीलाई मनोनयन गरिएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गठित विभिन्न १४ उपसमिति मध्ये उक्त उपसमितिको संयोजक पद भने रिक्त रहेको थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पराजुलीलाई संयोजकको जिम्मेवारी दिएको हो । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत रहेका पराजुली पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी समेत हुन् ।
संयोजकको जिम्मेवारी दिएकोमा पराजुलीले राखेप सदस्य सचिव टंकलाल घिसिङलाई धन्यबाद दिएका छन् । “मलाई विश्वास गरेर उहाँहरुले संयोजकको जिम्मेवारी दिनुभएको छ यसका लागि म आभार व्यक्त गर्न चाहन्छु”, उनले भने ।
३९ वर्ष अघि पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुदमा भलिवल खेलाडीको रुपमा गण्डकीबाट मैदानमा भिडेका पराजुली चार दशक पछि उपसमितिको जिम्मेवारी पाउँदा आफूलाई गौरव लागेको पोखरा स्पोर्टसलाई बताए । संयोजकको जिम्मेवारी पाउने विषयमा आफूले कल्पना नै नगरेको बताउँदै पराजुलीले एकाएक राखेपले पत्र पठाए पछि अचम्भित भएको बताए । “यो मेरो लागि लागि मात्रै नभई हामी जस्ता पूर्व राष्ट्रिय खेलाडीहरुको सम्मान हो”, उनले भने–“आफ्नो खेल जिवनमा एकदमै नयाँ विषयमा संयोजकको जिम्मेवारी पाएको छु । आफूले जानेको शिपलाई नवौं सफल बनाउन लागि पर्नेछु ।”
