पोखरा रङ्गशालामा सुविधासम्पन्न तेक्वान्दो प्रशिक्षण भवन शिलान्यास

पोखरा स्पोर्टस । एक दशक अघिदेखीको निरन्तरको प्रयासपछि पोखरामा तेक्वान्दो खेलको सुविधासम्पन्न प्रशिक्षण भवन निर्माण हुने भएको छ ।पोखरा रङ्गशलााभित्र बन्ने भवनको आज राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले शिलान्यास गर्नुभयो । भवन शिलान्याससँगै एक दशकअघिको निर्माणको सपना पूरा हुन लागेको हो ।

प्रशिक्षण भवन निर्माणका लागि तेक्वान्दोसँग सम्बन्धित खेल पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले लामो समयदेखी प्रयास गर्दै आएको र अहिले सो मिहिनेतले सार्थकता प्राप्त गर्न लागेको कास्की जिल्ला तेक्वान्दो सङ्घका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश तेक्वान्दोका अध्यक्ष जगनबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार विसं २०६७ देखी भवन निर्माणका लागि सङ्घका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले मासिक रु ५०० सहयोग सङ्कलन अभियान सुरु गरेका हुन् । सहयोग अभियानबाट हालसम्म रु ५५ लाख जम्मा भएको गुरुङले बताउनुभयो । भवन निर्माण समितिका संयोजक समेत रहनुभएका अध्यक्ष गुरुङले भन्नुभयो,“ भवन निर्माणका लागि हामीले १० वर्षअघिदेखी अभियान सुरु गरेका हौँ । स्वदेशमा मात्र नभएर बेलायत, हङकङ लगायतका नेपालीहरुबाट समेत सहयोग प्राप्त भएको छ । लामो प्रयासपछि यसलाई शिलान्याससम्म आइपुग्दा अत्यन्त खुःशी छौँ ।”

भवनको रु दुई करोड खर्च लाग्ने लागत अनुमान छ । तेक्वान्दो सङ्घले थप रु ५० लाख जति सहयोग जुटाउने योजनामा छ । भवनका लागि अपुग हुने रकमका लागि राखेपसँग सहयोग मागिएको गुरुङले बताउनुभयो । शिलान्यास कार्यक्रममा सदस्य सचिव घिसिङले भवनलाई पूर्णता दिन राखेपबाट सहयोग उपलव्ध गराइने विश्वास दिलाउनुभयो । चालू आर्थिक वर्षको बजेट कार्यक्रममा समावेश गर्न नसकिएपनि आगामी वर्ष यसका लागि बजेट विनियोजन गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

सदस्य सचिव घिसिङले भन्नुभयो,“पोखराको विशेषता भनेकै सरकारको मुख नताकि सबै कुरामा साझेदारी गर्ने हो । भवनका लागि सम्पूर्ण पोखरेलीले योगदान गर्नुभएको छ । हामीले पनि यसलाई सम्पन्न गर्न आवश्यक बजेट उपलव्ध गराउँछौँ ।” नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश शमसेर राणाले तेक्वान्दो हलभित्र खेल्ने खेल भएकाले भवन भनिर्वाय रहेको बताउँदै भवन निर्माणपछि खेलाडीको राम्रो विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

रङ्गशालाको दुई रोपनी क्षेत्रफल जमिनमा निर्माण हुने अत्याधुनिक हल सहितको भवनमा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी तयार गरिने कास्की जिल्ला तेक्वान्दो सङ्घका कार्यवाहक अध्यक्ष कुलचन्द्र शर्माले बताउनुभयो । उहाँका अनुसार सुविधासम्पन्न र अत्याधुनिक हलमा विदेशी खेलाडीहरु बिदामा आउँदा समेत खेल्न मिल्ने गरी निर्माण गरिनेछ ।

पोखरा रङ्गशालाभित्र फुटबल, क्रिकेट, टेनिस, ह्याण्डबल, भलिबल, ब्याडमिन्ट, बास्केटबल, भलिबल, आर्चरी लगायतका खेलका खेलस्थल रहेका छन् । विशेषगरी दोस्रो जनआन्दोलनपछि पोखरा रङ्गशालामा खेल पूर्वाधार निर्माणले गति लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close