
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन दुबैतर्फ गरी १६ खेल सम्पन्न भएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा गोरखाको बारपाक सुलिकोटमा सोमबारबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ ८ गरी १६ खेल सम्पन्न भएका हुन् । १० औं राष्ट्रिय खेलकुदका लागि छनौट खेल समेत रहेको प्रतियोगितामा पहिलो चरणमा महिलातर्फ म्याग्दी, बागलुङ, कास्की, पर्वत र गोरखा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
त्यसै गरी पुरुषतर्फ बागलुङ, लमजुङ, तनहुँ, म्याग्दी, पर्वत र गोरखा क्वाटरफाइनलमा प्रवेश गरेको गण्डकी प्रदेश भलिबल संघका महासचिव टहलसिंह थापा मगरले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
महिलातर्फ १० र पुरुषतर्फ १० गरी कुल २० टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा मुस्ताङले महिला र मनाङले पुरुष टिमको सहभागिता नगराएको महासचिव मगरले बताए । महिलातर्फ सुमह ग अन्तर्गत स्याङजा र नवलपुर र पुरुषतर्फ समेत स्याङजा र नवलपुरको पहिलो चरणको खेल बाँकी रहेकोले क्वाटरफाइनलको समिकरण पुरा नभएको महासचिव मगरले बताए । सोमबार रोकिएका ति खेलहरु भोली सुचारु गरिने उनले जानकारी दिए । भोली नै क्वाटरफाइनल र सेमीफाइनलका खेलहरु समेत सम्पन्न गरिने भएको छ ।
२०७२ सालको महाभुकम्पको केन्द्रविन्दु समेत रहेको बारपाकलाई खेलकुदको माध्यमबाट जनजिवनलाई सहज बनाउने संगै आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न उद्धेश्यले आयोजित उक्त प्रतियोगिताको गण्डकी प्रदेश सरकारका पूर्व सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले गरेकी थिइन् ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सदस्य सचिव शर्माले यो प्रतियोगिताले खेलकुद विकास संगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण रहेको बताए । उनले भने–“बारपाक महाभुकम्पको केन्द्र विन्दु समेत होइन अव खेलकुदको हव पनि बनाउनु पर्छ । खेलकुदले नै स्थानियहरुको जनजिवन उकास्न भूमिका रहन्छ । त्यसका लागि परिषद सदैव सहयोगका हातहरु अघि बढाउन तयार छ ।”
बारपाक सुलिकोट गाउँपालिकाको समेत सहकार्यमा आयोजना भएको उक्त प्रतियोगिताका लागि पालिकाले महत्वपूर्ण सहयोग गरेको प्रतियोगिताका संयोजक एवं परिषदका सदस्य विनय थापाले जानकारी दिए । प्रतियोगिता बैशाख १२ गते सम्पन्न हुनेछ ।
