
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तरगत तेक्वान्दो खेल म्याग्दीको सदरमुकाम बेनीमा हुने तय भएको छ ।
नेपाल तेक्वान्दो संघको टोलीले कास्की, बागलुङ र म्याग्दीको भ्रमण पछि म्याग्दीमा आयोजना हुने गरी राष्ट्रिय खेलकुद परिषद (राखेप)मा जानकारी गराएको छ । खेलस्थल अवलोकनका लागि संघका महासचिव दिपराज गुरुङ सहितको टोलीले म्याग्दीको बेनी तेक्वान्दो प्रतियोगिताका लागि उपयूक्त हुने बताए पनि अन्तिम टुङ्गो भने राखेपले लगाउनु पर्ने जनाएको छ ।
‘हामीले भ्रमण गरेको सवै जिल्लाको प्रतिवेदन राखेपमा बुझाएका छौं । उहाँहरुले नै अन्तिम टुङ्गो लगाउनु हुनेछ । राष्ट्रिय प्रतियोगिता हुँदै गर्दा त्यही अनुसारको सुविधा खेलाडी, आयोजक र दर्शकले पाउनु पर्छ भन्ने हाम्रो भनाई छ’, महासचिव गुरुङले भने ।
तेक्वान्दो विभिन्न तौल सुमहमा २ सय २२ खेलाडी, पदाधिकारी लगायत अन्य गरी ३ सय भन्दा वढीको सहभागिता हुने भएकोले पनि खेलस्थल, आवाश, अस्पताल लगायत अन्य सुविधाहरुका लागि समेत म्याग्दीको सदरमुकाम बेनी बजार उपयूक्त हुने तेक्वान्दो संघले जनाएको छ ।
आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म तय भएको नवौं राष्ट्रिय खेलकुद अन्तरगत राखेपले भदौ १५ सम्म सम्पूर्ण खेलस्थलको टुङ्गो लगाई आवश्यकता अनुसार पूर्वाद्धारहरुको मर्मत तथा निर्माण प्रक्रिया अघि बढाउने बताए पनि १० दिन ढिला हुँदा सम्म कुनै कार्य अघि बढेको छैन भने तामझामका साथ नवौैको सचिवालय उद्घाटन गरिए पनि उद्घाटनकै दोश्रो दिनबाट सचिवालयमा ताला झुण्डिएको छ ।
यति मात्रै नभई सचिवालय रहेको पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा विद्युत सर्ट भइ आगलागी भएको दुई महिना वढि भइसक्दा समेत राखेपले मर्मतका लागि कुनै चासो समेत दिएको छैन ।
